दाङ क्षेत्र–३ बाट हेमन्त मल्लको स्वतन्त्र उम्मेदवारी

Breaknlinks
Breaknlinks

‘बहुदलवादी’ नेता भनेर चिनिने हेमन्तबहादुर मल्ल (गणेश)ले आगामी संसदीय निर्वाचनमा ‘स्वतन्त्र’ उम्मेदवारी दिने तयारी गरेका छन्।

लामो समयसम्म वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी घोषणा भने केही दिनपछि गर्नेछन्। मल्लले आगामी निर्वाचनमा दाङको क्षेत्र–३ बाट उम्मेदवारी दिने तयारी गरेका हुन्।

स्वतन्त्र उम्मेदवारीबारे आफूले लोकतान्त्रिक समूहहरूसँग छलफल गरिरहेको र केही दिनपछि औपचारिक रूपमा घोषणा गर्ने पनि जनाएका छन्। त्यसका लागि उनले स्थानीय स्वतन्त्र समूहहरूसँग पनि छलफल अघि बढाइरहेका छन्। 

दाङको क्षेत्र–३ बाट २०७४ सालमा हिराचन्द्र केसीले जितेका थिए। त्यो बेला नेकपा (एमाले)बाट उम्मेदवार भएका केसी अहिले भने नेकपा एकीकृत समाजवादीमा छन्।  केसीले नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई पराजित गरेका थिए।

यो निर्वाचन क्षेत्र दाङका अर्का नेता दीपक गिरी चुनाव लड्ने क्षेत्र पनि हो। २०७० सालको दोस्रो संविधानसभाको चुनाव जितेर गिरि मन्त्री पनि भएका थिए। मल्लले यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन्। 

कुनै बेला ‘बहुदलवादी’ नेता भनेर पश्चिम दाङमा जवर्दस्त नेताको पहिचान बनाएका मल्ल त्यसपछि पनि कानुन व्यवसायी भए। ‘लामो समय वकालत गरेँ। अब स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छु,’ उनले भने, ‘मैले त्यसका लागि लोकतान्त्रिक समूहका साथीहरूसँग सरसल्लाह गर्दैछु र केही दिनपछि घोषणा गर्नेछु।’

व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धि र आत्मसम्मानको लडाईंलाई प्राथिकतामा राखेर आफू चुनाव लड्ने उनले बताएका छन्। 

‘यस समाजलाई करमुक्त र अपराधरहित बनाउन सकिन्छ भन्ने मेरो उद्देश्य हो,’ उनले भने, ‘कुनै बेला व्यवस्था परिवर्तनका लागि लडें अब स्वतन्त्र भएर जनताको सेवा गर्नेछु।’ 

त्यो बेला नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको नजिक भएर सक्रिय भएका उनी पछि कानुन व्यवसायी भएपछि राजनीतिबाट टाढिएका थिए। 

नेपाल विद्यार्थी संघमा सक्रिय रहेका उनी पञ्चायत विरोधी आन्दोलनमा त्यो बेला निकै चर्चित वक्ता थिए। देशभरिबाट उनलाई भाषणका लागि बोलाउने गरिन्थ्यो। कानुनमा स्नाकोत्तर गरेका मल्ल अब कानुनमै पिएचडीको तयारीमा छन्।

प्रकाशित मिति: : 2022-06-21 16:35:00

प्रतिकृया दिनुहोस्