विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्छ : गगन थापा

File Photo
File Photo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन्।

मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन्।

आयोगलाई पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय थापा र शर्माले सर्वोच्च अदालतले सरकारका नाममा परमादेश नै जारी गरिसकेकाले यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउनुपर्ने बताए।

‘निर्वाचन नै नहुने कतिपय देशमा नेपालीलाई मतदानको अधिकार दिन त्यहाँको कानुनले अप्ठेरो पार्ला, तर जुन जुन देशबाट सम्भव छ त्यहाँ अहिले नै सुरुवात गर्नुपर्छ,’ थापाले भने, ‘यस विषयमा सर्वोच्च अदालतले परमादेश नै दिइसकेको छ। राजनीतिक दलहरूबीच पनि पटक पटक छलफल भएको छ। कांग्रेसले पनि यो विषयलाई पहिलेदेखि नै उठाएको छ।’

उनले अझै पनि चार–पाँच महिनाको समय बाँकी रहेकाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सकिने उल्लेख गरे। निर्वाचन आयोगले काम सुरु गरेलगत्तै सरकारले यसमा सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेसका अर्का महामन्त्री शर्माले हरेक विषय कांग्रेसकै अगुवाइ र नेतृत्वमा हुने गरेको जिकिर गर्दै यो विषय मौलिक हकअधिकार पनि भएको बताए। थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: : 2022-06-21 13:52:00

प्रतिकृया दिनुहोस्