पढेपछि राम्रो जागिर खानुपर्छ। पढेन भने घर गृहस्थी राम्रो चल्दैन। बा आमा पाल्दैन।
दुख, अभावले आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्रोसँग पढोस्। बुढेसकालको सहारा बनोस्। अधिकांश नेपाली बा आमाले छोराछोरीका लागि पाल्ने रहर भनेकै यत्ति न हो। जिन्दगीभर छोरा–छोरीको सपना पूरा गर्ने दौडमा कुद्दाकुद्दै थाकेका बुढा बा आमाले यो भन्दा ठूलो आंकाक्षा सायदै राख्लान्।
विजय भण्डारीका बा आमको पनि यस्तै चाहना थियो। दु:ख गरेरै सहर पढ्न पठाएको छोराले पछि केही गर्ला र चैनको सास फेरौला भन्ने आश पालेका थिए। मास्टर्स सकाएका विजय काठमाडौंको एक एनजिओमा काम गर्थे। उनकी श्रीमती भावना थपलिया कलेज पढाउँथिन्। दुवैको राम्रै कमाइ थियो। यता बा आमाले पनि आफ्ना छोरा–बुहारीको प्रगति गाउँकालाई सुनाउथे।
०००
विजय एक्ला छोरा।
दिदी–बहिनी, दाजु–भाइ कोही पनि छैनन्। बा आमाका एक्ला आड भरोसा विजय नै हुन्। बेलाबेला पोखरा आउनेजाने चलिरहेकै थियो। सबथोक ठिकठाकै चल्दै थियो।
काठमाडौं बस्न लागेको निकै समयपछि विजयलाई घर फर्किने रहर जाग्यो। कताकता पोखरेली माटोको मायाले यसैयसै अत्याउन थाल्यो। ‘एनजिओमा काम गर्थेँ काठमाडौंमा। उतै काम गर्दागर्दै बिहे पनि भयो, बिहे गरेपछि पोखरा फर्किने रहर जाग्यो एक्लो छोरा म,’ विजय भन्छन्,‘बा आमा यता हुने बुहारीले काठमाडौंमै राखि भन्ने हुन्छ भनेर म फर्केँ।’
काठमाडौं छोडेर आफ्नै थातथलो फर्किँदा विजयसँग धेरै विकल्प थिएनन्। पोखरा आफ्नै सहर भए पनि विजयका लागि नौलो थियो। पोखरा फर्केर व्यवसाय नै गर्ने सोच बनाएका थिए। व्यवसायमा पनि यही गर्ने भनेर सोचिसकेका थिएनन्।
‘अरुको काम गर्न त्यति मन परेन। व्यवसायमा पनि के गर्ने ? फेन्सी पसल, भाँडा पसल त अरु नै कसैले गरिरहेको छन्। अरुले नगरेको काम के गर्ने त ? भनेर निकै सोचे,’ उनले सुनाए।
स्कुल पढ्दा साहित्य खुब पढ्थे विजय। कोर्ष बुकसँग लुकाईलुकाई साहित्यका किताब पढ्ने रस त्यतिबेलै बसिसकेको थियो। ‘किताब पढ्न मन पर्ने। पोखरा फर्केपछि के गर्ने भन्दा किताब पसल नै बेस्ट अप्सन भयो,’ उनले भने,‘अनि, सुरु भयो ‘रिडर्स कर्नर’।
०००
त्यो बेला पोखरामा साहित्यका किताब कमै बेचिन्थ्यो। विधा छुट्याएर किताब सायदै बेचिन्थ्यो। महेन्द्रपुलमा गोरखापत्र बाजेको पसल भन्ने थियो (अहिले पनि छ)। साहित्यका फुटकर किताब पाइए पनि विधा नै छुट्याएर किताब पाइन्नथ्यो।
‘साहित्यिक किताब मात्रै बेच्ने किताब पसल पोखरामा थिएनन्। डिपार्टमेन्ट स्टोर शैलीमा भित्रै गएर किताब समातेर आफैंले निकाल्न मिल्ने शैलीमा भने पोखरमा किताब पसल थिएन, नयाँ लौ यो सुरु गरौं न भनेर गरेको हो,’ विजय सुनाउँछन्, ‘त्यस्तो ठूलो केही सोचेर गरेको होइन। १२ वर्षअघि सामान्य सोचेर गरेको हो।’
विजयको यही सोचले पोखरामा अहिले विराट रुप लिएको छ। किताब पढ्ने र पढ्न रुचाउनेको घुइँचो नै लाग्छ हिजोआज रिडर्स कर्नरमा। नेपाली, अंग्रेजी, हिन्दी लगायतका भाषामा लेखिएका विश्व साहित्यका किताब रोजी छानि रिडर्स कर्नरमा पाउन सकिन्छ।
०००
साहित्यको मात्रै किताब बेच्छु भनेर काठमाडौंको एजुकेशन बुक हाउस। मण्डला बुक पोइन्टबाट इम्प्रेस्ड भएको विजय सुनाउछन्।
‘म लैनचौरको नजिकै बस्थे। हिँन्दै जाँदा देख्थें। पोखरामा यो हुन सक्दैन र भन्ने भई रहन्थ्यो। साहित्यको मात्रै गर्छु भनेर मैले सुरु गरेको थिएँ। टेक्स्ट बुक त अरुले पनि गरिरहेकै छन् नि त,’ विजय भन्छन्,‘गेस पेपर अरुले बेचिरहेका छन्। अरुले बेचिरहेको कुरा मैले किन बेर्चौं। नयाँ कुरा बेचे पो म पनि बिक्री हुँला। मेरो व्यवसाय पनि चल्ला, मान्छेले फरक गरेछ भनेर माया पनि गर्लान् भनेर गरेको हो।’
पोखराको अति नै व्यस्त बजार क्षेत्र पालिखे चोकबाट भण्डारी दम्पतीले सुरु गरेको रिडर्स कर्नर अहिले न्युरोडमा पनि छ। त्यो भन्दा ठूलो स्वरुपमा। नयाँ साजसज्जासहित। ‘सुरुमा पालिखे चोकबाट सुरु गर्यौं। पालिखे चोकबाट सुरु गर्दा एकदमै एक्साइटेड भयौं, हामी। त्यतिबेला साहित्यको पनि एकदमै राम्रो माहोल थियो,’ विजय सम्झिन्छन्,‘किताब यस्तोसम्म थियो। लिन आउनेलाई पुर्याउन पनि हम्मेहम्मे पथ्र्यो। किताब आउँदै छ भनेपछि फिल्म रिलिज हुँदा जस्तो हुन्थ्यो। किताब रिलिज हुँदै छ भनेपछि मान्छेले पहिलेदेखि नै बुक गर्थे।’
किताबको नाम टिप्यो। फोन नम्बर टिप्यो। पछि त्यही मान्छेलाई नयाँ किताब आउने बित्तिकै खबर गरिहाल्थे। युवा पुस्ताका विद्यार्थीले साहित्यका किताब खुबै मन पराएका थिए रे।
‘स्टुडेन्टले मन पराएपछि स्कुलको नजिक अझ बढी चल्छ कि भनेर पालिखे चोकमा खोलेको ५ वर्षपछि पिएन क्याम्पसको गेटअघि खोल्यौं। सबै कुरा राम्रो हुँदैन भने जस्तै त्यहाँ चाही राम्रो भएन,’ विजय भन्छन्।
पिएन क्याम्पस गेटअघि खोलेको रिडर्स कर्नरको शाखा सफल हुन सकेन। सुरुआत भएको केही समयपछि नै बन्द हुन पुग्यो। अपितु, दुवैले हरेस मानेनन्।
‘किताब पसल खोल्छु’ भन्दा बा आमा ६ महिनै बोलेनन्।
एक दशक यता भण्डारी दम्पतीको बिहान किताबबाटै सुरु हुन्छ। र, रात पनि किताबसँगै सकिन्छ। याे दम्पतीको जीवनबाट किताब झिकिँदिने हो भने जिन्दगी नै के नमिलेको जस्तो हुन्छ। के नपुगे जस्तो हुन्छ।
विजयका हर योजनालाई आफ्नो ठानेर हम्मेसा साथ दिँदै आएकी भावना किताबसँगको गहिरो दोस्ती गाँस्न पाउनु नै आफ्नो जीवनको सफलता मान्छिन्। ‘किताब पसल खोल्ने भनेपछि मेरो त साथ नै रह्यो। मलाई त्यति धेरै आइडिया पनि नभएको। बाबु पनि सानै खोलौँ भनेर सहमतिमै सुरु गर्यौं। म काठमाडौंमा पढाउथे,’ भावना भन्छिन्, ‘उहाँलाई केही नयाँ गरौं भनेर सोच आइरहने। क्रियटिभ सोच्नु हुन्छ। त्यही भएर होला नयाँ–नयाँ सोचहरु पनि आइँ राख्ने।’
सानो लगानीमा सुरु भएको रिडर्स कर्नर यहाँसम्म आइ पुग्नुको सबै श्रेय पाठकहरुलाई दिन्छ, यो दम्पती। सुरुआतमा ८, १० लाख रुपैयाँ लगानी गरेर सुरु भएको रिडर्स कर्नरमा अहिले लगानी दिनहुँ बढ्दै आएको छ। साथीभाइको सहयोगले सुरुआत भएको रिडर्स कर्नर न्युरोडमा सुरु गरेको पनि पाँच वर्ष भइसक्यो।
०००
किताब पारखीहरु आउँछन्। किताब खोजीखोजी लैजान्छन्। यी दुई यसैमा रमेका छन्। ‘मान्छेहरु खुसी छन्। सबैभन्दा ठूलो कुरा के हो भने मान्छेहरुले इनकरेज गरिरहेका छन। राम्रो गरिस् भनेर भनि रहेका छन्,’ विजय भन्छन्।
काम गर्दै जाँदा हो धेरै थोक थाहा हुने।
साहित्यका किताब मात्रै बेच्न सुरु भएको रिडर्स कर्नरले साहित्यिक कार्यक्रम गर्नका लागि भेन्युको टड्कारो खाँचो पनि महसुस गर्यो। ‘साहित्यिक संस्थाहरु अर्काको स्कुल गएर साहित्यिक क्रियाकलाप गर्नुपर्ने अवस्था थियो। भेन्यु पनि हाम्रैमा भए त अझ गजब हुन्थ्यो भनेर भेन्युसहितको पनि सुरु गर्यौं,’ विजय भन्छन।
अहिले पोखरामा आयोजना हुने साना ठूला साहित्यिक कार्यक्रम रिडर्स कर्नरमै हुने गर्छ। किताबी गफ गर्छन्।
रिडर्स कर्नरमा छिर्नेबित्तिकै विजय र भावनाले मिठो मुस्कानसहित स्वागत गर्छन्। सधैं आउने पढक्कुलाई नयाँ किताब आएको छ है भनेर जानकारी गराउछन्। आउन नभ्याएकालाई सामाजिक सञ्जालबाटै सुटुक्क म्यासेज खसाल्छन्। साँच्चै भन्ने हो भने दुवै जना व्यवसायदेखि एकदमै खुसी छन।
तर, सुरुआति समयमा परिवारलाई बुझाउन भने यी दुईलाई निकै फसाद पर्यो।
किताब पसल खोल्न थालेको सुनाएपछि बा आमा ६ महिनासम्म बोलेनन्। ‘मास्टर्स पढिहालेँ। मास्टर्स पढेको छोरा अब क्याम्पस पढाउला जागिर गर्ला भनेको पसल खोल्दै छ रे भन्ने सुनेर बा आमा ६, ७ महिना ने बोल्नु भएन,’ विजय सम्झिन्छन्।
भावना मास्टर्स सकाएर कलेज पढाउँथिन्। एडमिनेस्ट्रेटको पाटो पनि सम्हाल्थिन्। पोखरा फर्केपछि त्यो च्याप्टर नै बन्द भयो। ‘कलेज पनि पढाउने। त्यस्तो मान्छेलाई पसलमा खुम्चयाएँ भन्ने मलाई खड्की रह्यो। एडमिनेस्ट्रेट हेरिरहेको। भनेर मलाई ग्लानी हुन्थ्यो,’ उनी भन्छन्, ‘बा आमा पनि यत्रो पढे। लगानी गरे। अब पसल खोलेर बस्ने रे! भनेर जे पसल भए पनि पसल त पसलै हो नि !’
छोराबुहारी पसल खोलेर बसेपछि बा आमा लामो समयसम्म निराश भए।
‘एक दिन बुझ्नुहुनेछ’ भन्नेमै थिए, दुवै जना।
पोखरा फर्केर गर्ने विकल्प धेरै भेटेका थिएनन् दुवैले। अरुले गरेको काम नगर्ने पक्षमै थिए, दुवै जना।
‘फरक गरौं भन्ने हुटहुटीले यहाँ आइयो। फरक भनेर उत्ताउलो फरक होइन। संस्कारी फरक गर्छु भन्ने थियो। उनले साथ दिँदै आइन्। पछिपछि सबैको साथ पनि मिल्दै आयो,’ विजय सम्झिन्छन्,‘१० महिनाको बच्चा थियो। बच्चा भुँइमा सुताएर। म औषधी बेच्न हिँन्थे पहिला। उनले पसल हेर्ने।’
किताब पढाउने मान्छे। किताब बेच्न बस्दा तपाईंलाई सुरुआतमा केही नमज्जा लागेको थियो कि ?
हामीले सोध्यौं। भावना भन्छिन्,‘मलाई खासै नमज्जा फिल गरिनँ। कलेज पढाउन छोडेर पोखरा आएको एक वर्ष भइसकेको थियो। बिस्तारै यसमा भिज्दै आइयो। अहिले त झनै मज्जा लाग्छ। अहिले त यतै ठिक लागेको छ।’
कहिलेकाहीँ कलेजमा पार्ट टाइम पढाउनेबारे पनि नसोचेकी होइनन्। तर, समयको पावन्दीले मिलिरहेको छैन।
रिडर्स कर्नर कहाँनेर पर्छ ?
पोखरा आएर सोध्यो भने जो कोहीले फ्याट्टै बताइ दिन सक्छ।
यो नाम जुराउन दुवैले निकै दिन सोचे। ‘नाम के राख्ने राख्ने। नामै जुराउन गाह्रो भयो। किताब पसल राख्ने भनेपछि पालिखे चोक कर्नर पर्यो। कुनो पर्यो। कर्नर सानो हुन्छ कि भन्ने पहिला लाग्यो। नामले होइन। कामले ठूलो देखाउने भनेर यही नाम रोज्यौं,’ विजय भन्छन्।
कर्नरमा पनि मेरो अथवा हाम्रो रिडर्स कर्नर पनि राख्न सक्थे। तर, रिडर्स भनेपछि अरुको हो। तपाईंहरुको हो है भनेर रिडर्सहरुको हो भन्ने अथ्र्याएर रिडर्स कर्नर नाम दिएको उनी बताउछिन्।
व्यवसायमा नयाँ गर्न नसके व्यवसाय सकिने ठम्याइ छ दुवैको। ‘पालिखे चोकमा अब मन्दी आयो छोडौं छोडौं भएको थियो। नयाँ ढाँचाले नगरेको भए हामीले १२, १३ वर्ष काम गर्न सक्दैन्थ्यौं। किताब माया गर्नेहरुले यो सब सम्भव भयो,’ उनी भन्छन्।
सधै नयाँ अभ्यास गर्न रुचाउने यी दुवै दम्पती पाठन संस्कृतिलाई अझैं बिस्तार गर्न चाहन्छन्। किताब पसलका रुपमा सुरु भएको रिडर्स कर्नरको अहिले रिडर्स क्याफे पनि सञ्चालनमा आएको छ। निकट भविष्यमै खपौदीस्थित रिडर्स होम पनि सञ्चालनमा ल्याउने तयारीमा छन्।
किताब पढ्न रहर गर्ने। तर, किताब किन्न नसक्नेहरुका लागि सदस्य हुन पाइने व्यवस्था छ, रिडर्स कर्नरमा। यहाँको सदस्य भएर किताब घरमा लैजाने पढेर फिर्ता गर्दै अर्को लैजान मिल्ने व्यवस्था छ। ‘त्यो पनि होइन भने यहाँ लाइब्रेरी छ। यहाँ आएर घन्टौं पढ्न पाउँछ उसले। उसले कफी खाए पनि भयो। नखाए पनि भयो। विसुद्ध पढ्न मात्रै पनि पायो,’ भावना भन्छिन्।
अहिले सानो स्वरुपमा रहेको लाइब्रेरीको आकार थपेर ठूलो बनाउने योजनामा छन् दुवै। ताकि किताब पारखीलाई पढ्न अझ सहज होस्।