नेपालकै पहिलो प्यारा पाइलटको अनुभव : झुण्डिएर आकाशमा उड्दा सबैले भने,‘मुटु भएकै छोरो रैछ’

Breaknlinks
Breaknlinks

एसएलसीको जाँच दिएपछि फुर्सदिला थिए, राजेश।

अल्लारे राजेशले भविष्यबारे सोचेर टाउको दुखाएकै थिएनन्।

‘म प्याराग्लाइडिङ सँगको रमाइलोको हिसाबले यसमा छिरेँ। एक दुई पटक टेण्डम गरियो। त्यसको अनुभव चाखियो, ओहो रमाइलो हुँदो रैछ। आफूले सिक्न पाएँ त रमाइलो हुन्थ्यो भन्ने हिसाबले लागियो,’ राजेशले सुनाए। लेकसाइडस्थित सनराइज प्याराग्लाइडिङको अफिसमा थियौं, हामी।

उही राजेश जो नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट हुन्। राजेश अर्थात् राजेश बम्जन। ‘बुवाले यसको व्यवसायीक पाटो स्थापना गर्दै हुनुहुन्थ्यो। भर्खरको अल्लारे, पैसा कमाउने। के गर्ने ? केही सोचै थिएन नि त। रमाइलो भन्ने सोच नि। मोटरसाइकलमा चढे। मोटरसाइकलमै रमाइलो, ग्लाइडर चढे ग्लाइडरै रमाइलो। मैले प्याराग्लाइडिङ सिक्दा १८ वर्षको थिएँ,’ उनले अघि सुनाए।

०००

२६ वर्षदेखि आकाशमा उडिरहेका राजेश उमेरले ४३ टेके। नयाँ पुस्तालाई अघि सारेर अहिले व्यवस्थापनको पाटो सम्हालेका छन्, राजेशले। आकाशमा निश्फिक्री चरा झैं उड्ने राजेशको उडानमा दुख, सुखका हजारौं चाङ छन्। उडान सम्बन्धि नेपालमा ऐन, नियम नबन्दा विदेशबाट लाइसेन्स लिनु पर्‍यो। कम्पनीकै डाइरेक्टर विदेशी नागरिक एडम हिलसँग उडान सिके। ‘उहाँ हाम्रै कम्पनीमा डाइरेक्टरका रुपमा काम गर्नु हुन्थ्यो। उहाँ प्रशिक्षक पनि हुनुहुन्थ्यो। ब्रिटिशको नागरिक हुनुहुन्थ्यो। उहाँ यही रहँदा मैले उहाँसगै पोखरामा कोर्ष गरेको हो,’ उनले भने।

सनराइज प्याराग्लाइडिङ कम्पनी नेपालकै पहिलो प्याराग्लाइडिङ कम्पनी हो। जसको सुरुआत राजेशका बुबा बिरु बम्जनले गरे। प्याराग्लाइडिङका पायोनियर बिरुका जेठा छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटका रुपमा लाइसेन्स लिएका छन्।

‘उहाँकै पहलमा प्याराग्लाइडिङ कम्पनीलाई स्थापित गर्नुपर्छ भन्ने मान्यतालाई लिएर उहाँकै पहलमा प्याराग्लाइडिङको व्यवसायीक पहल सुरु भएको हो। सनराइज प्याराग्लाइडिङ कम्पनी भनेर नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी दर्ता भएर सुरु भयो। त्यो बेला नेपाली पाइलट भन्ने नै थिएन, विदेशबाट प्यारापाइलट मगाएर नेपालमा सुरु भएको हो,’ उनले भने।

त्यतिबेला नेपालमा लाइसेन्स दिने निकाय पनि थिएनन्, प्याराग्लाइडिङ पाइलटको। व्यवस्थै थिएन। त्यसकारण सुरुआती अवस्थामा यहाँबाट मैले अनलाइन एक्जाम दिएर बाहिरी मुलुकबाटै लिनुपर्‍यो। भन्छन्,‘त्यहाँबाट लाइसेन्स लिएर त्यो लाइसेन्सलाई आधार मानेर उडान गरे। मैले सुरुमा ब्रिटिश ह्याण्ड ग्लाइडिङ, प्याराग्लाइडिङ एशोसिसनबाट लाइसेन्स लिएँ। अहिले आएर नेपालमा पनि म उड्न सुरु गरेको लगभग १२, १५ वर्षपछि आएर बल्ल लाइसेन्स दिने व्यवस्था सुरुआत भयो।’

राजेशले उडान गर्न लागेको १५/१६ वर्षपछि लाइसेन्स दिने व्यवस्था बल्ल नेपालमा सुरु भयो। अधिकाशंले बाहिरबाटै लाइसेन्स लिनु पथ्र्यो। नेपालमा त बल्ल २०१५ बाट प्याराग्लाइडिङ पाइलटको लाइसेन्स दिन थालियो। त्यो पनि अस्थायी खालको। ‘पिन्की लाइसेन्स दिन सुरु गरेको हो। त्यतिबेला नागरिक उड्डयन प्राधिकरणले अस्थायी भनेर दिएको थियो। अहिले आएर संस्थाले दिन गरेको छ,’ उनी भन्छन्। पहिलो पटक अस्थायी भनेर दिएको थियो। ट्रायलका रुपमा। उनको लाइसेन्स नम्बर ००१ नम्बरको हो।

प्राधिकरणले सबैलाई लाइसेन्स दिने क्रममा पहिलो को हो भन्ने भयो ?

पहिलोलाई पहिलो लाइसेन्स दिऊ भन्ने हिसाबले मलाई मान्यताले प्राधिकरणले दिने पहिलो लाइसेन्स उनलै पाए। उनले उडान थालेको ७ वर्षअघि बल्ल नेपालमा लाइसेन्स पाए।

अहिले प्याराग्लाइडिङ स्कुलमा आबद्ध भएर तालिम गरेपछि नेपाल हवाइ खेलकुद संस्था (ना) ले लाइसेन्स दिने गर्छ। राजेश त्यसको दुई कार्यकाल अध्यक्ष भए। ६, ७ वर्ष कार्यकालमा धेरै गाइडलाइन्स बनाउने काम पनि भयो।

प्याराग्लाइडिङ नेपालमा कसरी स्थापित गर्न सकिन्छ ?

बिरु बम्जनको लामो होमवर्कपछि प्याराग्लाइडिङ सुरु भयो। पहिला विदेशी पर्यटक लिएर आउने उडाउने गरियो। राजेश थप्छन्,‘यसलाई प्रमोसनल रुपमा कसरी लैजान सकिन्छ भनेर दुई, तीन वर्षको दौडधुपपछि लाग्यो।’

नेपाल पाइलट नहुँदा सबै पाइलट विदेशबाट झिकाउनु पथ्र्यो। सिजनमा दुई चार महिना नेपालमै बसेर सिजनल्लि रुपमा अक्टोबरदेखि मार्च एप्रिलसम्म उडाउने गर्थे। त्यो बेला नेपाली पर्यटक एकदमै न्युन मात्रामा उड्थे रे ! नत्र विदेशी पर्यटकहरु नै हुन्थे उड्नेमा।

उनका बुबाले नेपालमा प्याराग्लाइडिङको व्यवसायिक कम्पनीको स्थापना गर्न लाग्नु नै उनका लागि अवसर जस्तै भई दियो। ‘परिवारभित्रै भइरहेको व्यवसाय पनि। म त्यतिबेला एसएलसी दिएर बसिरहेको थिएँ। सिकौं न भनेर प्यासनको हिसाबले रुचिको हिसाबले लागेकाे हो। भर्खरै किशोरावस्थाको मान्छे। रमाइलाका लागि कस्तो हुने रैछ, उडौं न सिकौ भन्ने हिसाबले लागेको, अहिले २६ वर्षै पुग्यो,’ उनले भने।

कुनै पनि चिज नौलो हुँदा अनौठो त हुन्छ नै। मान्छेहरुको प्रतिक्रिया पनि अनौठै हुन्थ्यो। उनी सम्झन्छन्,‘ओहो! नेपालीको छोरो पनि यसरी उडेको छ। सक्ने हो। मुटु भएकै हो। यस्तै खालका प्रतिक्रियाहरु हुन्थे।’

बिरलै व्यक्तिहरुले गर्ने काम भएकाले पनि पहिलो व्यक्ति भएर प्याराग्लाइडिङ गरिरहँदा मान्छेहरुले प्रशंसा बटुलिरहेका थिए, राजेशले। दरिलो मुटु भएको मान्छे रहेछ’ यस्तै यस्तै तारिफ पाइरहेका थिए। भन्छन्,‘आफैंमा नौलो विषय, कौतुहलताको विषय पनि थियो।’

०००

राजेशलाई अझैं पनि सम्झना ताजै छ। बुवाले प्याराग्लाइडिङ कम्पनी सुरुआत गर्ने अठोट लिएपछि निकै हण्डर ठक्कर खानु परेको। सुरुआति अवस्थामा नेपालमा कुनै पनि हवाई उड्डयन सम्बन्धि रिक्रियसनल स्पोर्टस सम्बन्धि यस्ता खालका स्पोर्टस एक्टिभिटिज सम्बन्धि नेपालको नागरिक उड्डयन प्राधिकरणमा स्पष्ट किसिमको कुनै पनि नीति नियम नै थिएन।

‘स्थापना गर्ने क्रममा राज्य पक्षलाई घचघच्याउने, बुझाउने नियम कानुन बनाउने लगाउने। यी आदी कुराहरु निकै गाह्रो काम थियो। दुई चार वर्षै यसमा लाग्यो। हामीले जबदेखि प्रबद्र्धन गर्न सुरु गर्‍यौं,’ भन्छन्,‘१९९६ बाट सुरु गरेको ९७, ९८ ३ कि ४ वर्ष पछि गोभर्मेन्टसँगको नेगोसियसनमा २००० मा आएर बल्ला हाम्रो प्याराग्लाइडिङ कम्पनी दर्ता गर्न सफल भयौं। तीन चार वर्षको समय त पोलिसी बनाउने लाग्यो। सुरुआत गाह्रो थियो। कुनै पनि चिज सुरु गर्न प्रचारप्रसार गरेर स्थापित गर्न एउटा समय फेज लाग्दो रहेछ।’

२५ वर्षपछि फर्केर हेर्दा प्याराग्लाइडिङ ठूलो साहसिक गतिविधि, उद्योगको रुपमा स्थापित भएको छ। जहाँ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सयौंले रोजगारी पाएका छन्। ‘सुरुआति अवस्थादेखि यहाँसम्म आइ पुग्न विभिन्न चरण पार गर्दै यहाँसम्म आई पुगेका छौं। हामीले सुरु गरेपछि ८/१० वर्षपछि यसले ठूलो रुप लिदै आयो,’ उनी भन्छन्।

अहिले त पोखरा र प्याराग्लाइडिङ पर्यावाची जस्तै भइसक्यो। पोखरा गएपछि प्याराग्लाइडिङ गर्ने। अरु क्रियाकलाप सँगै जोडिएको मेन एक्टिभिटिज पोखरा प्याराग्लाइडिङ भएको छ। एउटा कम्पनीबाट सुरु भएको प्याराग्लाइडिङ कम्पनी अहिले लगभग ६०, ६२ कम्पनी पुगिसकेको छ। ४ सय हाराहारीमा पोखरामै पाइलटहरु छन्।

०००

पोखरा सेरोफेरो त भई नै हाल्यो, राजेशले नेपालमा पूर्व नेपाल धरान, पाल्पा तानसेन, गोरखा  विदेशमा फ्रान्समा दुई महिना बसेर उडान गरेका छन्। साउथ स्टेज, इन्डोनेसियामा समेत उडान गरेका छनन्। नेपालमै हुने विभिन्न प्रतियाेगितामा नेपालमा पनि राजेशले भाग लिएका छन्। ‘बाहिरी कम्पिटिसनमा एक दुई पटक गएँ। तर, त्यति धेरै चासोको रुपमा लिइएनँ। कम्पनीमै व्यवस्त भइयो,’ उनी भन्छन्।

२१ वर्ष निरन्तर आकाशमा भेटिने राजेश अहिले लेकसाइडस्थित अफिसमा भेटिन्छन्। यसको मतलब उनले उड्न छोडेका होइनन्। ‘कहिलेकाहीँ आफ्नो रमाइलोका लागि उड्न जाँदा घण्टौं पनि व्यतित गरिन्छ,’ उनी भन्छन्।

राजेशका दुई भाइ पनि यसै पेशामा छन्। उनीहरु प्यारापाइलटका रुपमा काम गरि रहेका छन्। बुवाले सुरुआत गरेको व्यवसाय दाजुभाइले अघि हाँकी रहेका छन्।

०००

पोखराको प्याराग्लाइडिङ बन्द गर्ने कुरा छ।

राजेशलाई पनि बन्द हुने हो कि भन्ने चिन्ता छ। २५औं वर्षदेखि निरन्तर चलिरहेको व्यवसाय बन्द हुनु हुन्न भन्ने माग छ, व्यवसायीहरुको। ‘सयौं युवा आश्रित भएको उद्योगलाई अन्त: सर भनेर यसलाई मार्नु हुँदैन। अन्तर्राष्ट्रिय एअरपोर्ट पनि चल्ने प्याराग्लाइडिङ पनि चल्ने हिसाबले स्ट्रिक्ट प्यारामिटरमा भए पनि यसलाई पोखराकै सराङकोटकै पेरिफेरीमा राखिनुपर्छ भन्ने हामी व्यवसायीको मान्यता छ। भविष्यमा के कसो हुन्छ त्यो त सरकारबाटै निर्धारण होला,’ उनी भन्छन्।

जनवरीदेखि मिल्दैन भनेर आइरहेको छ, सञ्चारमाध्यममा। यो कुरामा प्याराग्लाइडिङका व्यवसायी काठमाडौं गएर पर्यटनमन्त्रीसँग बसेर मात्र आधिकारिक आउला। तर, यसमा आश्रीत व्यवसायी र प्यारापाइलटहरुलाई भने त्रसित बनाएको छ। विकल्प खोज्न बाध्य पारेको छ।

प्रकाशित मिति: : 2022-06-13 20:10:00

प्रतिकृया दिनुहोस्