बेल्पाली विजयका कुरा : वातावरण संरक्षण कहिले गर्ने ?

डाँडा फोरेर जताततै बाटो त पुगेकाे छ। तर, धुलैधुलो, पहिरो मात्रै। वातावरलाई कति असर परेको छ ? कसैले मतलब नै गरेको छैन...

पाेखरास्थित लेकसाइडको एक रेष्टुरेन्टको रुफटफमा बसेर हामी गफिदै थियौं। २ महिना लामो छुट्टीमा नेपाल आएका लेखक विजय हितान मगर सुनाउँदै थिए। हामी सुन्दै।

‘पर्यावरण धेरै बिग्रिसक्यो। बचाउन ढिला भयो,’ हितानको चिन्ता थियो, यो।

जन्म गाउँ गुल्मीको इस्मा पौदी हुँदै बाग्लुङ, पर्वत नाघेर पोखरा आइपुगेका हितानलाई फेवाताललाई मनभरि हेर्ने मन रहेछ। तर, फेवातालको घट्दो सौन्दर्य देखेर भने उनी खिन्न देखिन्थे।

हालै प्रकाशित कृति ‘ब्लु प्लानेट’माथि विमर्श गर्ने कार्यक्रमका लागि पनि हितान पोखरा आएका रहेछन्। त्यही छेकोमा साथी-भाइ भेटघाट त भई हाल्यो।

०००

बिहानको समय सिरेटो चल्नुपर्ने हो। अझ त्यसमाथि फेवाताल किनार। तर, प्रचण्ड गर्मीले छोप्दै थियो। ‘फेवाताल मज्जाले हेरौं न त भनेर यहाँ बसेको नि,’ आफू बसेको होटलबारे सुनाउँदै थिए, उनी।

ब्रिटिश आर्मीबाट सेवा निवृत भएपछि उनको स-परिवार अहिले बेलायतमा बसोबास गर्दै आएको रहेछ। झण्डै ३९ वर्षअघि पोखरा ब्रिटिश क्याम्पबाट लाहुरे हुन योग्य छानिएका हितानले ब्रिटिश आर्मीमा १० वर्ष सेवा गरेपछि सेवा निवृत भएका रहेछन्।

‘९७ सालमा हङकङ बेलायतले चाइनालाई हस्तान्तरण गर्‍यो। त्यतिबेला ठूलो कटौती भयो आर्मीको,’ हितान सुनिए,‘झन्डै ८, १० हजार फौजीलाई पेन्सन दिएर अथवा स्वेच्छाले केही रकम दिएर घरमा पठाइयो। म पनि त्यही भीडमा निस्किएँ।’

१० वर्ष सेवा गरेपछि निवृत भए। ब्रिटिश आर्मीबाट सेवा निवृत हुँदा उनका अघि तीन बाटो थिए। एउटा व्यापार गर्ने, अर्को राजनीति र तेस्रो उच्च शिक्षा लिने। विदेशको ठाउँमा अघिल्ला दुई विकल्प त धेरै महत्वकांक्षी थिए। उनले तेस्रो विकल्प रोजे। उच्च शिक्षाको।

‘त्यसपछि बल्ल मेरो उच्च शिक्षा विश्वविद्यालयको  ब्याचलर डिग्री मैले इन्भार्योमेन्ट साइन्समा मैले हङकङको ओपन युनिभर्सिटीबाट गरें,’ उनी सुनाउँछन्,‘निवृत भएपछि फेरि हङकङमै गएँ। सिभिलमा काम गरे। काम गर्दै ब्याचलर डिग्री पनि पढें। हङकङको पढाइ सकाएपछि उनी बेलायत लागे। बेलायत गएर इनभार्योमेन्ट साइन्समा मास्टर्स डिग्री गरें।’

‘म हङकङमै फर्केको हुनाले राजनीति र विजनेश गर्ने वातावरण रहेन। उच्च शिक्षा पनि राम्रो हुन्छ विदेशमा, त्यो अवसरमा मलाई अलरेडी प्राप्त भयो,’ उनी अघि सुनाउँछन्।

हाल हितान बेलायती सरकारी संस्था इनभार्योमेन्ट एजेन्सीमा जागिरे छन्। १३ वर्ष यता बेलायतको वातावरण संरक्षणका लागि लागि परेका छन्। ‘मास्टर्सको थेसिस गर्दा गर्दै जब अप्लाई गरें। म पास भएँ। २००८ सालको अक्टोबरदेखि अहिलेसम्म इनभार्योमेन्ट एजेन्सीमा काम गर्दै आइरहेको छु,’ उनी भन्छन्।

बेलायतको इंगलेन्डमा अवस्थित एजेन्सी हो, इनभार्योमेन्ट एजेन्सी। ४ संघीय प्रदेश मध्ये इंगलेन्डमा छ, यो एजेन्सी।

‘इन्टरनेशनल लेभलमा काम गर्ने सानो विभाग छ। म त्यसमा पर्दिनँ,’ कामबारे उनी सुनाउँछन्,‘बढी भन्दा बढी इनभार्योमेन्ट सम्बन्धि काम इंगलेन्डमा गर्छ। त्यसमा पनि गण्डकी प्रदेश भने जस्तो सानो केन्ट छ। त्यो प्रदेशभित्र पोखरा महानगर भने जस्तै त्यसमा रहेर इनभार्योमेन्ट म्यानेजमेन्ट भन्ने सानो टिम छ। १५, २० जनाको टिम म त्यसमा रहेर काम गर्छु।’ 

अक्सर लाहुरेहरु कमै पढा/लेखा हुन्छन्। त्यसमाथि जनजाति समुदायमा पढाईको महत्व कमै लिने गरिन्थ्यो, त्यो बेला। लेखक हितान यो सबै प्रेरणाको श्रेय आफ्नो बुवालाई दिन्छन्। ‘सबै प्रेरणाको स्रोत मेरो बुवा हो। उहाँ ब्याचलर पढेर आदिबासी/जनजाति आन्दोलनमा नेपाली कांग्रेसमा आबद्ध रहेर काम गर्नुभयो। राजनीतिमा सक्रिय,’ भन्छन्,‘उहाँ जहिले पनि म लाहुरे छुट्टीमा आउँदा। ५, ६ महिना छुट्टी हुनुहुन्थ्यो। म घुमफिर गर्ने। बुवाले प्राइभेट पढेर डिग्री लिन भन्नु हुन्थ्यो।’

उनका बुवा जयबहादुर हितान मगर लाङघाली परिवार संघ र नेपाल मगर संघको संस्थापक सचिव समेत हुन्। भूमी सुधारमा सरकारी जागिरे। भैरहवा सरुवा भएपछि उनी स परिवारसहित भैरहवा झरे। पहाड छोडेर भैरहवा झरेको केही वर्षपछि बुटवलमा घर बनायो हितानको परिवारले। उनी बुटवलमै पढ्दै थिए। त्यही बेला लाहुरे हुन छाती नाप्न आए। लाहुरे हुन फिट देखिए। करिब ४० वर्षअघि जिन्दगीको टर्निङ पोइन्ट बन्यो पोखरा। विजयलाई अझैं पनि सम्झना छ, लाहुरे हुन बिहानदेखि लागेको लामको, फेवतालमा टिलफिल पानी, माछापुछ्रे। यी सबै सबैको...।

०००

हितान आफूलाई बेलायतमा बस्ने बेल्पाली भन्न रुँचाउदा रहेछन्। यसमा उनको नेपालप्रतिको माया प्रष्ट झल्किन्छ। परदेशमा रहँदा पनि घरदेशको यादले छोपी हाल्छ नै। विजयको पर्या (वातावरण सहित्य) लेखनी पनि त यही मायाले बढाएको हो। आफूले अहिलेसम्म जानेको/बुझेको ज्ञान कथा कवितामार्फत् बुझाउन थोरैले किन नबुझुन। तर, वातावरण संरक्षणमा एक जना मात्रै लागे पनि धेरैको फरक पर्छ।

हो, उनले चाहेको पनि त यही हो। कसैले बचाइ देओस् घट्दै गएको फेवाको सौन्दर्य।

‘मैले इनभार्योमेन्ट सम्बन्धि जुन वैज्ञानिक ज्ञान पाएको छु। त्यसलमई नेपाली साहित्यमा ढालेर कसरी नेपालीहरुलाई वातावरण संरक्षणमा लगाउन सकिन्छ भनेर त्यसमा लागि परेको छु। त्यसैका लागि इको राइट गरिरहेकाे छु,’ हितान सुनिन्छन्।

पर्या साहित्यका दुई कथा प्रकाशित छन्, उनका। हालै प्रकाशित ब्लु प्लानेटमा १५ वटा वातावरणीय कथा छन्। यसमा अघि क्लाइमेट चेञ्जले मान्छेको जीवनमा कस्ताे असर पारेको छ। बागमती कसरी प्रदुषण भइरहेको छ। त्यसले कस्तो असर पारेको छ ? त्यसलाई कसरी स्वच्छ राख्न सकिन्छ भनेर कथामा देखाउन खोजिएको छ।

नेपाल जैविक विविधतामा धनी छ। संसारमै नभएका बन्यजन्तु धेरै छन्। तर, चोरी सिकारी एकदमै धेरै छ। त्यसैलाई लिएर गैडालाई चार वर्ष शीर्षकमा कथा छ।

बागमती ब्लुज कविता संग्रह। अनि, इको उत्सर्जन भनेर निबन्ध संग्रह छ। वातावरण सम्बन्धि उनका प्रकाशित कृति हुन्। मगर समुदायको इतिहास समेटिएको मगर रिन्हाक पनि उनको प्रकाशित छ।

‘म लामो समय नेपालबाट टाढा बस्नु पर्‍यो। पहिला लाहुरे नुहँदै विद्यार्थी कालमा कविता कोर्थे। किताब पढ्न कथा कविता, पढ्न मन लाग्थ्यो,’ हितान सुनिए,‘लाहुरे हुँदा पनि ब्रिटिश गोर्खामा पर्वते भन्ने पत्रिका निस्किन्थ्यो। बिएफबिएस भन्ने रेडियो छ। त्यसमा कविता पठाउथेँ। वाचन हुने। पर्वतेमा लेखहरु आए।’

आर्मीमा हुँदा साहित्यिक वातावरण थिएन। सेवा निवृत भइसकेपछि नेपाली साहित्य कता छ ? भनेर खोजी हिँड्दा, हङकङमा ठूलो नेपाली बस्ति भेटे उनले। ‘पूर्ण रुपमा नेपाली साहित्यमा लागेको म बेलायत गएर हो। बेलायतमा झण्डै १०, १३ साहित्य संस्था छ। १ लाख बढी नेपाली छन्। १०औं हजार नेपालीले साहित्य कोरिरहेका छन्। त्यसरी म पनि जोडिएँ,’ .उनी भन्छन्।

पर्या साहित्यमा नेपाली लेखकहरुले कलम चलाए पनि यसको व्यापक खोजी गर्न भने बाँकी नै रहेको उनी सुनाउँछन्। मुल धारको साहित्यमा प्राकृतिक सौन्दर्यतर्फ हाम्रो लेखन आउनुपर्ने ठान्छन्, उनी।

‘अहिले सबैको चासो भनेको वातावरणीय सौन्दर्य क्षयिकरण हो। जलवायु परिवर्तनको प्रभाव हो। यति ठूलो इसु छ यो। त्यसैलाई पर्या साहित्यमा ढालेर म हिँडी रहेको छु,’ उनी भन्छन्। 

अन्तिममा हामीले सोध्यौं, तपाईंले जिन्दगीमा कमाउन बाँकी सायदै केही छ ? अब नेपाल फर्केर तपाईंले जानेको ज्ञान बाड्ने कि उतै हराउने ?

उनको उत्तर: बेलायत हुँदा प्रत्येक मिनेट नेपाल सम्झिन्छु। नेपाल आएर वातावरण संरक्षण सम्बन्धि एजेन्सी खोलेर अथवा नेपाल सरकारलाई सर-सल्लाह दिन सक्छु। अर्को साहित्य गर्ने भनेर सोचेको छु। तर, नेपाल फर्किने उत्कट चाहना हुँदा हुँदै उता पनि अर्को सञ्जाल छ। परिवार छ। त्यो पनि चट्टै छोडेर आउन नमिल्ने। तर, छिट्टै म प्रमिस त गर्न सक्दिनँ। तर, नेपाल आएर रेष्ट अफ द लाइफ पर्या साहित्य गरेर बिताउने मन छ। तर, कहिले आउने यकिन छैन ? 

प्रकाशित मिति: : 2022-04-02 11:03:00

प्रतिकृया दिनुहोस्