नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरूका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाएका छन्।
‘हामी निराश हुनुपर्ने स्थिती छैन। अनेक प्रतिकूलताकाबीच हामीले जित्यौं,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरू निस्कीए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के।’
स्थानीय चुनावको परिणामको समिक्षा गर्दै उनले एमालेको स्थिती कमजोर नभएको दाबी गरे। पाँच दलिय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताएका छन्।
‘तपाईँहरू पार्टीको कार्यकर्ता हो। तपाईँहरूको काम मार्फत अब जनताले पार्टी हेर्छ। त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान कार्यकर्ता भएर देखाउनोस्,’ उनले भने।