भारतमा हिंसा: जताततै रक्तपात, राँचीमा इन्टरनेट बन्द

Photo – PTI
Photo – PTI

भारतीय जनता पार्टीकी नेत्री नूपुर शर्माले पैगम्बर मोहम्मदप्रति अनादर हुने विवादित बयान दिएपछि उत्तरप्रदेश, झारखण्ड र पश्चिम–बङ्गालमा हिंसा भड्किएको छ।

हिन्दू–मुस्लिम समर्थकहरू सडकमा उत्रिएका छन्। यूपीको प्रयागराज, मुरादाबाद, सहारनपुर, फिरोजाबाद, अम्बेडकर नगर, हाथरस, अलिगढ, जालौनमा मानिसहरूले हंगामा मच्चाएका छन्।

बंगालको हावडामा एउटा भीडले प्रहरीमाथि ढुंगा हानेको छ। लगत्तै प्रहरीले उग्र भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उता, हिन्दू–मुस्लिम हिंसापछि राँचीमा कडा कर्फ्यु जारी गरिएको छ। प्रभावित क्षेत्रहरू सिल गरिएको प्रहरीले जनाएको छ।

झारखण्ड राज्य सरकारले घरबाट बाहिर ननिस्कन चेतावनी दिएको छ। हिंसा शुक्रबारदेखि शनिबार दिउँसोसम्म जारी छ।

पश्चिम–बङ्गालको हावडाको पाँचला बजारमा प्रदर्शनकारीले अन्धाधुन्ध ढुंगा प्रहार गर्दा कैयौं प्रहरी घाइते भएका छन्। उलुबेरिया सब–डिभिजन अन्तर्गत राष्ट्रिय राजमार्ग र रेलवे स्टेशन वरिपरि धारा १४४ लागू गरिएको छ।

कानपुरमा अघिल्लो हप्तादेखि घातक हिंसा मच्चिएको छ। रक्तपातले यूपीभर आतंक फैलिएको छ। आक्रोसित मुस्लिम भीडले बीजेपी नेत्री नुपुर शर्माविरूद्ध खनिएका छन्। यूपी प्रशासन सतर्क रहेपनि धार्मिक कट्टरपन्थीहरू भिडिरहेका छन्।

प्रयागराजका विभिन्न स्थानमा आन्दोलनकारीहरूले थुप्रै गाडीमा आगजनी गरेका छन्। प्रदर्शनकारीले उल्टो आक्रमण गर्दा अर्धसैनिक बलका सयौं जवान घाइते भएका छन्। शनिबार दिउँसोसम्म २२७ जना पक्राउ परेका छन्।

सहारनपुरमा शुक्रबार पनि हिंसा मच्चिएको छ। जामा मस्जिद बाहिर केही नयाँ मानिसहरूले एउटा भीडलाई रक्सी बाँड्दै उत्तेजक नारा लगाउन सिकाइरहेको भिडियो सार्वजनिक भएको छ।

राँचीको मेन रोडमा प्रार्थनापछि हिंसा भड्किएको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले फायरिङ गर्नुपरेको छ। अराजक तत्वहरूले हिंसाको मौका छोपेर लुटपाट गरेका छन्। प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।

हिंसापछि झारखण्डका २४ जिल्लामा कर्फ्यु जारी गरिएको छ। प्रहरीलाई सतर्क रहन निर्देशन दिइएको छ। राँचीमा हिंसा प्रभावित क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ।

प्रकाशित मिति: : 2022-06-11 19:20:00

प्रतिकृया दिनुहोस्