डा. भण्डारीले जिते अमेरिकामा 'नेपाली' देखिन्छन् पनि, सुनिन्छन् पनि 

डा. प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्य संसदको तल्लो सदन मेरिल्याण्ड हाउस अफ एसेम्बेलीमा विजयी भएर अमेरिकामा नेपाली मूलको पहिलो विधायकको इतिहास बनाएका डा. ह्यारी भण्डारी त्यो इतिहासको रक्षा गर्दै अमेरिकामा नेपालीलाई अरू बढी देखिने र सुनिने बनाउने अभियानमा लागेका छन्। 

यही क्रममा दोस्रो कार्यकालका लागि लागि उम्मेद्वारी दिएका डा.  भण्डारी एक चुनौतिपूर्ण चुनावी क्याम्पेन अगाडि बढाइरहेका छन्।

मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट डेमोक्रेटिक पार्टीका उम्मेद्वार  रहेका डा. भण्डारीविरूद्ध रिपब्लिकन पार्टीले बाल्टिमोर काउन्टीकी पार्टी अध्यक्ष क्याथलिन स्मेरोलाई चुनावी मैदानमा उतारेपछि उनका सामु यो चुनौति खडा भएको हो। स्मरणीय छ, स्मेरोलाई उम्मेद्वार बनाएर रिपब्लिकन पार्टीले यहाँको जित-हारलाई पार्टीकै प्रतिष्ठाको विषय बनाएको छ।

डा. भण्डारीको निर्वाचन क्षेत्र यसपटक पुन: सिमाङ्कन भएको छ। उनका पाँच प्रिसिङ्ट अर्को निर्वाचन क्षेत्रमा गाभिएका छन् भने त्यतिकै संख्यामा अर्को निर्वाचन क्षेत्रका प्रिसिङ्टहरू पनि डा. भण्डारीको निर्वाचन क्षेत्रमा आएका छन्। यी नयाँ प्रिसिङ्टहरूले डा. भण्डारीको निर्वाचनलाई सहज बनाउने हुन् कि असहज बनाउने हुन्, अहिले नै भन्न सकिने स्थिति छैन। तर, यी नयाँ प्रिसिङ्टका लागि डा. भण्डारी बिल्कुल नयाँ र अपरिचित उम्मेद्वार हुन्। उनले यी प्रिसिङ्टमा खर्चिलो चुनावी प्रचार-प्रसार र मतदाताको घरघरमा ढोका ढक्ढकाउन जाने चुनावी क्याम्पेन अगाडि बढाउनुपर्ने हुन्छ। यसले पनि डा. भण्डारीको चुनावी क्याम्पेन थप महंगो र चुनौतिपूर्ण हुन पुगेको हो ।

रिपब्लिकन पार्टीकी उम्मेद्वारसँग अहिले नै ठूलो चुनावी कोष छ र उनले आगामी दिनमा पनि धेरै चन्दा उठाउन सक्ने सम्भावना छ। उनका पछाडि सिंगै पार्टी भएकाले पनि उनलाई चन्दा उठाउन सहज छ।

अमेरिकी चुनावमा कुन उम्मेद्वारले कति चन्दा उठाउन सक्यो र उसको चुनावी कोष कत्रो छ भन्ने कुराले पनि ठूलो महत्व राख्छ। यसका लागि एक किसिमको प्रतिस्पर्धा नै हुन्छ र यो प्रतिस्पर्धामा जित्नेले सामान्यत: चुनाव जित्छ भन्ने खालको सोचाइ आम मतदातामा पैदा हुन्छ।

डा. ह्यारी भण्डारीले पहिला त यही मनोवैज्ञानिक चुनाव जित्न आवश्यक हुन्छ। त्यसका लागि उनले ठूलो कोष बनाउनुपर्ने हुन्छ। र, यो कोषका लागि उनले मुलत: नेपाली समुदायकै भर पर्नुपर्ने हुन्छ।

ह्यारी भण्डारीले पहिलो कार्यकालमा उल्लेखनीय काम गरेका छन्। नेपाली संघ-संस्थाका लागि राज्य कोषबाट बजेट ल्याएका छन्, दशै विधेयक, सागर घिमिरे विधेयकलगायतका नेपाली समुदायका लागि अहम् महत्व राख्ने विधेयक प्रस्तुत गरेका छन्। उनले आफ्नो सार्वजनिक ओहोदाका कारण अमेरिकामा असामयिक निधन भएका नेपालीको शव व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। सारमा, उनी अमेरिकामा रहेका नेपालीको दु:खको साथी बनेका छन्। अमेरिकामा नेपाली समुदायलाई देखिने र सुनिने बनाउन रातदिन प्रयत्न गरिरहेका छन्।

यी सबै भूमिकाका लागि उनी नेपाली सुमदायबाट सहयोग पाउँन योग्य छन्। नेपालीमा एउटा भनाइ छ, माया गर्छु भनेर मात्र हुदैन, माया देखाउन पनि जान्नुपर्छ। ह्यारीलाई माया गर्छु भन्ने नेपाली समुदायले माया देखाउने बेला हो यो। उनलाई माया गर्नु भनेको आफूले सकेको आर्थिक सहयोग गरेर विजयी बनाउन योगदान दिने हो।     

मेरिल्याण्डको ४४४औं संसद अधिवेशन सुरू हुन अघि उनले पहिलो चरणको फण्ड राइजिङ अभियान सञ्चालन गरेका थिए, त्यतिबेला साह्रै थोरै नेपालीले मात्र उनलाई आर्थिक सहयोग गरेका थिए। त्यो सहयोग संख्याले पनि सोचेजस्तो थिएन, रकमको हिसाबले पनि सोचेजस्तो थिएन। अमेरिकामा ग्रास रूट लेभलमा फण्ड राइजिङ गर्नु श्रेयस्कर मानिन्छ। त्यसैले उनलाई धेरैभन्दा धेरै नेपालीले बरू थोरै थोरै भए पनि सहयोग दिनु दुबै हिसाबले राम्रो हुन्छ। त्यसो भयो भने चुनावी क्याम्पेनको प्रभावकारिता देखिन्छ।

चुनाव र फण्ड राइजिङको डेटलाइन नजिकिदै गर्दा डा. भण्डारीले केही दिन मै दोस्रो चरणको फण्ड राइजिङ अभियान अगाडि बढाउने योजना बनाएका छन्। उनले यस चरणमा धेरैभन्दा धेरै नेपालीबाट बरू थोरै थोरै भए पनि सहयोग संकलन गरेर लक्ष्यअनुसारको कोष बनाउने अपेक्षा गरेका छन्। 

सन् २०१८ मा मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाटै विजयी भएर डा. भण्डारीले अमेरिकाको नेपाली समुदायका लागि नयाँ इतिहास निर्माण गरे। उनले त्यतिबेला तत्कालिन रिपब्लिकन पार्टीको बाल्टिमोर काउन्टीकै अध्यक्षलाई पछि पार्दै नेपाली समुदायको पक्षमा एक ऐतिहासिक जीत निकालेका थिए।

यो जीतलाई दोहोर्याएर अमेरिकामा नेपाली समुदायलाई थप देखिने र सुनिने बनाउन पनि अमेरिकामा रहेका सबै नेपालीले उनलाई सहयोग गर्न जरूरी छ। भनाइ नै छ नि, एक थुकी सुकी सय थुकी नदी। सबैले स-सानो सहयोग गर्यौ भने उनले अपेक्षा गरेजस्तो निर्वाचन कोष बन्ने छ, त्यो कोष रिपब्लिकन पार्टीको उम्मेद्वारभन्दा ठूलो पनि हुन सक्छ। त्यसो भयो भने पहिला मनोवैज्ञानिक चुनाव जितिन्छ त्यसपछि नोभेम्बर ८ मा हुने जनरल इलेक्सन पनि जितिन्छ।

तपाई उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नहुन्छ:

https://www.harryforstatedelegate.com/donation

प्रकाशित मिति: : 2022-06-11 09:25:00

प्रतिकृया दिनुहोस्