मन्त्रीबाट हटाए ६ सांसदसहित कांग्रेस प्रवेश गर्ने आलेको चेतावनी

फाइल तस्विर
फाइल तस्विर

एकीकृत समाजवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएपछि असन्तुष्टि चुलिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट फिर्ता बोलाइएका पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्यमन्त्री कृष्णकुमार श्रेष्ठले पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन्। उनीहरूले एकीकृत समाजवादीको सचिवालय बैठकको मन्त्री फेर्ने निर्णय कार्यनयन भएलगतै पार्टी छोड्नेसम्मको धम्की दिएका छन्।

मन्त्री पदलाई म्यादी प्रहरीजस्तो नठान्न अध्यक्ष नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई उनले चेतावनी दिएका छन्। सोमबार बिहान नेपाल र मन्त्री आलेबीच फोन संवादका क्रममा सामान्य विवाद भएको पार्टीका एक स्थायी कमिटी सदस्यले बताएका छन्। 

त्यसो त मन्त्री आलेनिकट ६ सांसदहरू नयाँवानेश्वरमा जम्मा भएर आइतबार राति अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेको बताइएको छ। उनीहरूले अध्यक्षसँग मन्त्री आलेलाई नहटाउन आग्रह गरेका छन्। 

पार्टीको नीतिगत धारणा नै मन्त्रीले बोल्ने भएकाले बजेट सेसनमा मन्त्री फेरबदल हुँदा समस्या नपर्ने एकीकृत समाजवादीका एक पदाधिकारीकाे भनाइ छ।

‘मन्त्री बनाउने पार्टीले हो। फिर्ता बोलाउने पनि पार्टी नै हो। त्यसमा किन आपत्ति जनाउनु ? किन राेइलाे गर्नु ? उहाँहरूले आपत्ति जनाउनुहुन्छ भन्ने लाग्दैन,’ ती पदाधिकारीले भने,‘पार्टी निर्णयविरूद्ध बाहिरी दबाब सृजना गर्न पार्टी छाेड्ने, प्रधानमन्त्री भेट्नेजस्ता काम गरेकाे हो भने त्यो गलत हुन्छ।’

एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कार्यशैली उस्तै–उस्तै भएको एकीकृत समाजवादीकी एक सांसदले टिप्पणी गरेकी छन्।

‘प्रेम दाइले राम्रो काम गरिरहनुभएको छ। उहाँको चारैतिर प्रशंसा छ। तर माधव कमरेड सीमित घेराभित्र घेरिनुभएको छ। चर्चा बटुलिरहेका मन्त्रीलाई फिर्ता बोलाउनु राम्रो होइन,’ आलेनिकट एक सांसदले भनिन्।

सचिवालयको बैठकलाई चुनौती थपिरहेका आलेसहितका अन्य सांसदहरूको कांग्रेस प्रवेश गर्ने चर्चाले व्यापकता पाएको छ। बालुवाटार स्रोतका अनुसार मन्त्री आलेले प्रधानमन्त्री देउवालाई भेट्न खोजिरहेका छन्। 

मन्त्री फिर्ता गर्ने सचिवालयको बैठकलगतै आइतबार पार्टी कार्यालय पुगेका आले र श्रेष्ठ शीर्ष नेतालाई नभेटेपछि रिसाउँदै फर्किएका थिए। लगतै उनले भानु देउवासँग ‘प्रधानमन्त्रीलाई मेरो सन्देश छ’ भन्दै लगभग १० मिनेट कुराकानी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ।

यता एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्। सत्ता गठबन्धनको बैठकअघि सोमबार बिहान प्रधानमन्त्री देउवाले मन्त्री आलेलेको विषयमा एकपटक सोच्न एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-06-06 14:29:00

प्रतिकृया दिनुहोस्