एमालेका तीन नेतालाई कारबाहीको माग

file photo
file photo

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र केन्द्रीय सदस्य विष्णु रिजाललाई पार्टी अनुशासन आयोगमा कारबाहीको माग गरिएको छ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई भेटेर एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र प्रचार विभागका सदस्यले अनुशासनको ‘डन्डा’ चलाउन माग गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले पार्टी पराजय हुनुमा अन्तर्घात नै प्रमुख कारण ठानिरहेका बेला गुरुङ र अर्यालमाथि पोखरा महानगरमा आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको गम्भीर आरोप छ।

पोखरामा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पैसा लिएर आफ्नै उम्मेदवारलाई हराएको भन्दै उपमहासचिव गुरुङनिकट नेता–कार्यकर्तालाई पनि पोखरेली नेताहरूले कारबाहीको माग गरेका छन्।

पार्टीको प्रचार गर्ने नाउँमा अध्यक्ष ओलीसँग निकट भई आम–सञ्चारमा आन्तरिक सूचना चुहाएको भन्दै प्रचार विभाग र प्रेस चौतारीका नेताहरू केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रिजालविरूद्ध खनिएका छन्।

ओलीनिवास बालकोट पुगेर प्रचार विभागका केही सदस्य र प्रेस चौतारीका पदाधिकारीहरूले नेकपा (एमाले)को आधिकारिक केन्द्रीय फेसबुक पेज एक–दुई जना पार्तीका केन्द्रीय सदस्यले दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

‘पार्टीको आधिकारिक फेसबुक पेज विष्णु कमरेडको निजी पेज जसरी चलिरहेको छ। नेकपाताका उहाँ (विष्णु) प्रचण्ड–माधव समूहमा छँदा त्यो पेज अध्यक्ष कमरेड ओलीविरूद्ध प्रयोग गर्नुभयो। उहाँले प्रतिगमनकारी भन्दै लेखेका पोस्टहरू अहिले पनि त्यहीँ छन्,’ प्रेस चौतारीका एक नेताले भने।

प्रचार विभागले निर्वाचनको समयमा पनि प्रभावकारी ढंगले समन्वय नगरेको उनीहरूको गुनासो छ। उपप्रमुख रिजालले अनलाइनका प्रकाशक–सम्पादकलाई खुसी पार्नका लागि कमिटीभित्रका आन्तरिक निर्णय, विवाद–बहस आम–मिडियामार्फत् छताछुल्ल पार्ने काम गरेको अर्को आरोप छ।

स्थानीय चुनावको परिणामपछि एमाले नेता–कार्यकर्ताबीच एकले अर्कालाई आरोप लगाउने होडबाजी चलिरहेको छ। बालकोट पुगेको टोलीसँग अध्यक्ष ओलीले लज्जास्पद अन्तर्घात पार्टी पराजयको मुख्य कारण भएकाले छानबिन हुने बताएका छन्।

त्यस्तै, हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष ओलीलाई सुझाव दिने स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाहीको लागि सिफारिस गरेको छ।

प्रकाशित मिति: : 2022-06-05 21:47:00

प्रतिकृया दिनुहोस्