श्रीलंका गहिरो आर्थिक संकटमा फसेपछि नागरिकको दैनिकी थप कष्टकर बन्दै गएको छ। रोजगारी गुम्दा हजारौं युवायुवतीहरू धमाधम देश छाडिरहेका छन्। उच्च शिक्षाको सपना बोकेर शहर छिरेका युवतीहरू यौन कर्ममा धकेलिन बाध्य छन्।
श्रीलंकामा कानुनतः देह व्यापार पूर्णरूपमा निषेध छ। तर कलिला युवतीहरू यौन कार्यमा संलग्न भइरहेका छन्। मिडिया स्रोतका अनुसार राजधानी कोलम्बोमा स्पा र मसाज सेन्टरको नाममा यौन धन्धा चलिरहेको छ।
अर्थतन्त्र ध्वस्त भएपछि श्रीलंकालीले कयन ‘गरिखाने बाटो’ गुमाएका छन्। कैयौं युवतीहरू यौन पिपासुको अंगालोमा चेपिएका छन्। आर्थिक अवस्था कमजोर हुँदा देह बेच्न बाध्य भएको दुःखेसाे गर्छन्, यौनकर्मी।
आमा बितिन्, बुवा बिरामी छन्
२१ वर्षीया इशारा बच्चैदेखि जाँगरिली थिइन्। नर्स बन्ने सपना बोकेर शहर आएकी उनी यौनकर्मी बनिन्। आजकल कोलम्बोको एउटा स्पा सेन्टरमा शरीर बेच्न बाध्य छिन्, उनी।
आर्थिक संकटले जताततै जटिलता थपेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। कम्पनीहरू बन्द छन्। आमाको मृत्यु भइसक्यो। बुवा राेग बोकेर छट्पटाइरहेका छन्। विवाहित भाइ श्रीलंकाली सेनाको जवान छन्।
इशारा यौनकर्मी बन्नुअघि एक कम्पनीमा मासिक २५ हजारका दरले काम गर्थिन्। कोरोना महामारी र आर्थिक संकटले रोजगारी गुमाइन्।
एकातिर पढाई पूरा गर्ने धोको बाँकी छ। अर्कातिर जागिर गुम्यो। तनावै–तनावमा बिताएकी छन्, कैयौं समय। राजधानीभर काम खोजिन् तर कतै पाइनन्। अन्तिममा स्पा सेन्टरमा पुगिन्।
‘मेरो भाइ आर्मी छ। कमाएको पैसा उसको परिवारलाई खर्च धान्न ठिक्क हुन्छ। मैले मेरो जागिर गुमाएँ। पैसा सकियो। कतै काम भेटिनँ। त्यसपछि मैले गुगल सर्च गरेँ, स्पा सेन्टरमा जागिर पाएँ,’ २१ वर्षीया इशारा भन्छिन्।
आजकल इशाराको कम्पनी फेरिएको छ। काम पनि फेरिएको छ। र नाम गुमनाम छ। उनी स्पा सेन्टर पुगेर यौनकर्मी बनेको आफूबाहेक कसैलाई पत्तो छैन। प्रेमी र बुवालाई ढाँटिरहेकी छन्।
‘आर्थिक अवस्था नबिग्रिएको भए यौनकर्मी बन्ने थिइनँ। मैले पीडा भोगेँ। कठिन समयसँग नराम्रोसित सम्झौता गर्नुपर्यो,’ उनले आफ्नो पीडा सुनाइन्।
इशारा मेडिकल नर्स बन्न चाहन्छिन्। खुल्ला प्रतिस्पर्धात्मक परीक्षाबाट पास भइसकेकी छन्। तर भर्नाका लागि कतैबाट पनि पैसा पाइनन्। अनि स्पा सेन्टरमा जोडिइन्।
इशाराजस्ता हजारौं युवतीहरू आफ्नो सपना पूरा गर्न यौनकर्मी बनिरहेका छन्। श्रीलंकामा लगभग ४० हजार यौनकर्मी महिला छन्, जसमा आधाभन्दा बढी कोलम्बोमा रहेको अनुमान छ। तर यौन कार्यमा संलग्न महिलाहरूको कुनै ठोस तथ्याङ्क छैन।
कोलम्बोस्थित एक स्पा सेन्टरका व्यवस्थापकले बताएअनुसार आर्थिक संकटयता काम खोज्ने युवतीहरूको संख्या ह्यात्तै बढेको छ। धेरैजसो युवतीहरूको काँधमा घर–परिवार पाल्ने जिम्मेवारी छ। उनीहरू काम नपाउँदा थप मर्कामा छन्।
देशका दुर्गम क्षेत्रबाट रोजगारीको खोजी वा शिक्षाका लागि कोलम्बो आउने युवतीहरू आजभोलि सीधै स्पा सेन्टरमा पुग्छन्। अनि काम माग्छन्। स्पा सेन्टर चौबीसै घण्टा खुला रहन्छन्।
युवतीहरू सेन्टरभित्रै बस्छन्। आयुर्वेदिक उपचार, वेलनेस सेन्टर, स्पा र मसाज सेन्टरको नाममा सञ्चालित नयाँ स्वरुपका यौनगृह राजधानीस्थित पोस क्षेत्रमा छ्यापछ्याप्ती भेटिन्छन्।
श्रीमान बेरोजगार बने, दैनिकी धान्नै मुस्किल
२६ वर्षीया जीना एक वर्षदेखि कोलम्बोको एउटा स्पा सेन्टरमा काम गरिरहेकी छन्। यसअघि उनी चिप्स बनाउने कारखानामा २५ हजार तलबमा काम गर्थिन्। रिजाका श्रीमान मजदुरी गर्छन्। तर कहिलेकाहीँ काम नै पाउँदैनन्। घर धान्नै मुस्किल छ।
कोरोना महामारी–ताका जीनाका श्रीमानले खाइपाइ आएको जागिर पनि गुमाए। कम्पनीले तलब पनि दिएन। ‘मेरो सात वर्षको छोरा छ। स्कुल शुल्क पनि तिर्नुपर्छ। हामीहरू भाडाको घरमा बस्छौं। मैले स्पा सेन्टरमा जागिर पाएँ। अनि यहाँ राम्रो कमाउन थालेँ,’ जीनाले भनिन्।
जीनाका ससुरा पनि उनीहरूसँगै बस्छन्। अहिले उनको कमाइमा पूरै परिवार चलिरहेको छ। परिवारलाई जीनाको कामबारे कुनै जानकारी छैन, ठान्छन् होला– चिप्स कारखानामा काम गर्छे।
‘यहाँ विभिन्न किसिमका ग्राहक आउँछन्। हामीले सबैलाई सेवा दिनुपर्छ। धेरैजसो मान्छे राम्रा हुन्छन्। कामबाहेकको पैसा पनि दिन्छन्। तर कतिपय नराम्रा मान्छे पनि आउँछन्,’ उनले पीडा पोखिन्।
तीन वर्षदेखि यौनकर्मी
२४ वर्षीया समीराको श्रीमानसँग सम्बन्धविच्छेद भइसकेको छ। तीन वर्षदेखि यौनकर्मी बनेकी उनी कम्पनीमा काम गर्थिन्।
जागिर गुमाएपछि स्पा सेन्टरमा काम गर्न थालेकी हुन्, समीरा। छोरा श्रीमानसँगै बस्छन्। छोराको खर्चबापत श्रीमानलाई मासिक २५ हजार रुपैयाँ दिन्छिन्, उनी।
इशारा, जीना र समीरा जस्ता युवतीहरू बन्द कोठाभित्र निःशब्द छन्। कोलम्बोका स्पा सेन्टरमा काम गर्ने युवतीबारे बाहिरी समाजलाई कुनै अत्तोपत्तो हुँदैन। सेन्टरमा थकाइ मेट्न सेना, प्रहरी, वकिल, व्यापारी, डाक्टर र आजकल विदेशी पर्यटकहरू जान्छन्।
एजेन्सीको सहयोगमा