गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)को समूह निर्वाचित भएको छ।
नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको समूह निर्वाचित भएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिए।
निर्वाचित हुने महिला सदस्यमा लक्ष्मी भण्डारी, सरिता मिजार, गौरीमाया श्रेष्ठ, माया तामाङ र सीता दर्जी छन्। यसैगरी दलित तथा अल्पसङ्ख्यक सदस्यमा पासाङ्वाङ्चु शेर्पा, देवीमाया लिम्बु राई कुलुङ् र हरिबहादुर विक निर्वाचित भएका छन्।
निर्वाचित पाँचै जना उम्मेदवारले २४ मत पाएका नगर निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसका उम्मेद्वारले भने २३ मत पाएका थिए।
कार्यपालिका निर्वाचनका लागि ४७ मतदाता थिए । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट २४, कांग्रेसबाट २२ र स्वतन्त्र एक सदस्य नगरसभामा निर्वाचित भएका थिए। स्वतन्त्रको मत पनि कांग्रेसलाई गएको छ।
नगरपालिकाको–४ मा अध्यक्ष निर्वाचित जयराम महत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर विजयी भएका थिए। विसं २०७४ मा महत वडा नं ४ को वडा सदस्यमा कांग्रेसका तर्फबाट विजयी भएका थिए।
कार्यपालिकामा पाँच महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवार हुने व्यवस्था छ। दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट परेको जनाइएको छ। नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौ वटै वडाका अध्यक्ष रहने व्यवस्था छ।
गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडा अध्यक्ष एमाले, तीन वडा अध्यक्ष कांग्रेस र एक वडा अध्यक्ष स्वतन्त्रका उम्मेद्वार निर्वाचित भएका छन्। गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले सपथ लिएर कार्यभार सम्हालिसकेका छन्। कार्यपालिकाको निर्वाचन भएसँगै नगरपालिकाको कार्य सञ्चालनमा सहजता आएको जनाइएको छ।