विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। पार्टीले स्थानीय चुनावमा नराम्राेसँग हारेपछि परिणामको जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएका हुन्।
पार्टी सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दु:खी भएको बताउँदै मिश्रले भनेका छन्, ‘गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु।’
प्रेस विज्ञप्तिमा मिश्रले भनेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’