दीर्घकालीन खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्न हामीले सीमान्तकृत मानिसका चिन्तालाई ध्यानमा राख्ने क्षेत्रीय र अन्तर्राष्ट्रिय समाधान खोज्न सकेनौँ भने भोकमरी, आप्रवासन र हिंसाको अस्थिर चक्र जारी रहनेछ
विश्वभर खाद्यान्नको मूल्य आकासिएको छ । अत्यावश्यक खाद्यवस्तु क्रमशः अनाज, मासु, दुग्धपदार्थ, वनस्पति तेल र चिनीलाई समेट्ने राष्ट्र संघको खाद्य तथा कृषि संगठनको खाद्य मूल्य सूचकांक मार्चमा एक सय ४१ दशमलव एकबाट बढेर एक सय ५९ दशमलव सातको हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
अप्रिलमा भने सूचकांक थोरैले घटे पनि युक्रेनमा रुसी युद्धलगायत घटनाक्रमले खाद्यान्नको मूल्य नयाँ उचाइमा पुग्ने आकलन गरिएको छ र विश्व भोकमरीमा भयावह परिणाम निम्तिने देखिन्छ ।
कोभिड–१९ महामारीले विश्वको खाद्य प्रणालीको कमजोरी र कार्यक्षमतालाई उजागर गर्यो र त्यसमा आवागमन प्रतिबन्ध र आपूर्ति–शृंखलाको अवरोधले मूल्य बढायो, जसले ग्रामीण जीविकालाई नष्ट गरिरहेको छ, विशेषतः विपन्नमाझ खाद्य असुरक्षा बढाएको छ । दुवै पक्ष खाद्यान्न, पेट्रोल र मलका ठूला निर्यातकर्ता भएकाले युक्रेन युद्धले खाद्यान्न समस्यालाई बढाइरहेको छ ।
अर्कातर्फ लु, बाढी र लामो समयसम्म चल्ने खडेरीजस्ता जलवायु परिवर्तनका मौसमसम्बन्धित घटनाक्रमले विश्वव्यापी खाद्य सुरक्षामा ठूलो धक्का पुर्याएको छ । तापक्रम बढ्दै जाँदा यी धक्का दोहारिरहनेछन् र शक्तिशाली बन्दै जानेछन् ।
यदि विश्व औसत तापमान एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्छ भने नतिजा प्रलयकारी हुन सक्छ । हालैको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चका अनुसार औसत तापमान वृद्धि रोक्न छिटो एवं कठोर कदम चाल्न आवश्यक हुन्छ ।