बाँकेका पालिका प्रमुखको शपथ तथा पदभार ग्रहण

File photo
File photo

बाँकेमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित पालिका प्रमुखहरूले शपथ तथा पदभार ग्रहण गरेका छन्।

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त विष्ट लगायत नरैनापुर, बैजनाथ, जानकी, राप्तीसोनारी, डुडुवा र खजुरा गाउँपालिका अध्यक्षलाई शपथ ग्रहण गराएका हुन्।

बाँकेका ८ पालिका मध्ये कोहलपुर नगरपालिकाको मत परिणाम ढिला आएकाले अन्य ७ स्थानीय तहका पालिका प्रमुखहरूले शपथ तथा पदभार ग्रहण गरेका छन्। पालिका प्रमुखहरूले शपथ लिएसँगै पालिका प्रमुखहरूले आ आफ्नो पालिकाका उप मेयर, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाले गरेको स्वागत तथा पदभार कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले विभिन्न आठवटा निर्यातसमेत गरेका छन्। 

उनले गरेका आठ निर्णयहश्रमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय अपाङ्ग मैत्री बनाउने, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै बैंक प्रतिनिधि मार्फत सहजै उपलब्ध गराउने व्यवस्था मिलाउने, भेरी अस्पतालमा आउने बिरामीहरूलाई सहज तरिकाले खानाको व्यवस्थापन गर्दै आएको अंजनी माता रसोईलाई प्रति महिना एक लाख दिने, समग्र नेपालगञ्जको विकासको लागि सर्वपक्षीय पहल खोज्ने लगायतका रहेका छन्। 

उनले समग्र नेपालगञ्जको विकासका लागि पूर्व जनप्रतिनिधि, बौद्धिक वर्ग र सबै पार्टी प्रतिनिधिको सुझावका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: : 2022-05-22 17:26:00

प्रतिकृया दिनुहोस्