बलात्कृत युवतीलाई न्याय खोज्न कानुनी हदम्याद तगारो

आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे स्वयम्भूबाट पक्राउ, पीडकविरुद्ध जाहेरीको पर्खाइमा प्रहरी

अभियुक्तलाई अभद्र व्यवहारमा मुद्दा चलाएर पीडितको जाहेरी कुर्ने पक्षमा प्रहरी 

आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । तर, कानुनी जटिलताका कारण म्याद थपमा समस्या हुने देखिएको छ । 

स्वयम्भूस्थित दिदीको घरबाट भाग्ने तयारी गरिरहेको अवस्थामा उनलाई पक्राउ गरे पनि शनिबार साँझसम्म पीडित पक्षबाट प्रहरीमा जाहेरी परेको छैन । कानुनतः विनाजाहेरी पक्राउ गरिएको अभियुक्तलाई प्रहरीले २४ घन्टा मात्रै हिरासतमा राख्न सक्छ । त्यसपछि अभियुक्तलाई कि हिरासतमुक्त गर्नुपर्छ, कि थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्नुपर्छ । अदालतबाट म्याद थपका लागि पीडितले अभियुक्तविरुद्ध प्रहरीमा अनिवार्य जाहेरी दिनुपर्छ । 

अनुसन्धानमा खटिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले पीडितलाई न्याय दिने उद्देश्यले आकर्षित हुने मुद्दाको सम्बन्धमा तीव्र परामर्श भइरहेको बताए । ‘आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजकबाटै एक किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसमा प्रहरी गम्भीर छ । अनुसन्धानका लागि आवश्यक प्रमाण संकलन हुँदै छन् । मुद्दा कसरी अघि बढाउने विषय टुंगिसकेको छैन । हामी तीव्र कानुनी परामर्शमा छौँ । पक्कै पनि केही न केही आवश्यक निर्णय लिइनेछ ।’ 

पीडितले सार्वजनिक गरेको बयानअनुसार सौन्दर्य प्रतियोगिताका नाममा मोडल भिसाज कल्सल्टेन्सीका सञ्चालक पाण्डेले ‘सक्सेस पार्टी’का नाममा होटेलमा बोलाएर लट्ठिने पेयपदार्थ पिलाएर बलात्कार गरेका थिए । त्यतिवेला उनको नग्न तस्बिर र भिडियोसमेत खिचेर ६ महिनासम्म डर–धम्की देखाई पटक–पटक बलात्कार गरेको पीडितले बताएकी छिन् । तीन दिनअघि सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेकी युवतीले बलात्कारपछि आफू ‘डिप्रेसन’मा गएको र आत्महत्याको प्रयाससमेत गरेको बताएपछि उनको न्यायका लागि चौतर्फी आवाज उठिरहेको छ । तर, कानुनअनुसार घटनाले हदम्याद नाघेको भन्दै उनले प्रहरीमा जाहेरी नै दिन सकेकी छैनन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२९ ले हाडनाता करणीमा बाहेक बलात्कारका अन्य कसुरमा एक वर्षभित्र प्रहरीमा जाहेरी नदिए कसुर नठहरिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: : 2022-05-22 11:50:00

प्रतिकृया दिनुहोस्