२०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः उम्मेदवारी दिएका कैलालीका अधिकांश उम्मेदवार पराजित भएका छन्। कैलालीमा दोहोरिएर पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन्।
कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरी अध्यक्षमा विजयी भए, ९ वटै वडा अध्यक्षसहित कैलारीमा नेपाली कांग्रेस विजयी भयो। विजयी उम्मेदवार चौधरीले नेकपा माओवादी केन्द्रका उम्मेदवार लाजुराम चौधरीलाई पराजित गरेका थिए, उनी २०७४ को स्थानीय तह निर्वाचनमा बहुमत वडासहित विजयी भएका निवर्तमान अध्यक्ष हुन्।
कैलालीको गोदावरी नगरपालिकाको उपमेयरमा दोहोरिएर उम्मेदवार बनेकी रत्ना कडायत पनि यस पटक पराजित भइन्। अघिल्लो पटक एमालेबाट उपमेयर पद जितेकी कडायत यसपटक नेकपा एसबाट उप मेयरमा उम्मेदवार बन्दा एमालेसंगै पराजित भइन्। गोदावरीको उपमेयरमा नेकपा एमालेकी शारदा रोकाया विजयी भइन्।
कैलालीको भजनी नगरपालिकामा पुनः दोहोरिएर मेयरमा उम्मेदवारी दिएका शेरबहादुर चौधरी पनि पराजित भए। २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर विजयी भएका चौधरी यस पटक पनि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार बनेका थिए। तर उनी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरीसँग पराजित भए। २०७४ को निर्वाचनमा भजनी नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको थियो।
कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा दोहोरिएर उममेदवार बनेका महादेव बजगाईं पनि पराजित भएका छन्। २०७४ को निर्वाचनमा मेयर पद जितेका बजगाईं फेरि मेयरमै उम्मेदवार बनेका थिए। तर उनी नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएकी शुशीला शाहीसँग पराजित भए। लम्कीचुहा नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावी तालमेल गर्दा उनको पराजय भएको हो।
घोडाघोडी नगरपालिकाको मेयरमा पनः उम्मेदवारी दिएका ममताप्रसाद चौधरी पनि यस पटक चुनावमा पराजित भए छन्। २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका चौधरी निर्वाचित थिए।
उनी यस पटकको निर्वाचनमा पनि दोहोरिएर मेयरमा उम्मेदवार बनेका थिए। तर यसपटक भने उनी सफल हुन सकेनन्। चौधरीलाई एमालेबाटै अलग्गिएको नेकपा एसका उम्मेदवार खडक रावतले पराजित गरे। रावत घोडाघोडीमा गठबन्धनका साझा उम्मेदवार बनेका थिए।
कैलालीको चरे गाउँपालिका उपाध्यक्षमा पुनः दोहोरिएर उम्मेदवार बनेकी दिपा साउँद पनि पराजित भइन्। २०७४को निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी साउँदले यसपटक पनि एमालेबाटै उपाध्यक्षमै उम्मेदवारी दिएकी थिइन्। चुरेमा एमालेले अध्यक्ष पद जित्दा उपाध्यक्षमा भने पराजय भोग्न पर्यो।
सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा पनि दोहोरियर उम्मेदवार बनेका नृपबहादुर वड यस पटक पराजित हुने देखिएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७ सय मत अन्तरले पराजति गर्दै मेयर बनेका नृपबहादुर वड यसपटक भने उनै स्वतन्त्र उम्मेदवार हमालभन्दा १० हजा मतले पछाडि छन्।
अहिल्लो निर्वाचनमा कैलारी गाउँपालिकामा चुनाव जितेर अध्यक्ष बनेका लाजुराम चौधरीप्रति सो पालिकाका नागरिकले ठुलो अपेच्छा गरेका थिए। चौधरी समुदायको बाहुल्यता रहेको सो पालिकामा लाजुरामले जितेपछि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै स्थानीयले खुलेरै गुनासो गर्न थालेका थिए। तर लाजुराम जनगुनासोको वेवास्ता गर्दै पुनः अध्यक्षका उम्मेदवार बने र पराजित भएको स्थानीयको आरोप छ।
‘सार्वजनिक जग्गाका विषयमा भएको विवाद, बजेट वितरणमा मनोमानी हुने गरेको, चुनावपछि गाउँमा फर्केर नआएको भन्दै लाजुरामविरुद्ध गुनासो गर्नेको संख्या बढिरहेको थियो,’ कैलारी गाउँपलिका–१ का स्थानीय देव चौधरीले भने, ‘ती गुनासालाई वेवास्ता गर्दै लाजुरामजी फेरी अध्यक्षको उम्मेदवार बनेर जनतालाई झुटा आश्वासन बाँड्न थाल्नुभयो, तर जनताले पत्याएनन्।’
जनताले पटक–पटक एउटै उम्मेदवारलाई मौका दिन नचाहेको कैलालीको गोदावरी नगरपालिका–२ की अम्बिका ताम्राकार बताउँछिन्। ‘दोहोरिएका जनप्रतिनीधले सम्झन लायक काम पनि गर्न सकेनन्,’ उनले भनिन्, ‘त्यसैमा एउटै व्यक्तिलाई पटक–पटक ल्याउनुभन्दा अरुलाई पनि मौका दिनुपर्छ भन्ने आमधारणाका कारण दोहोरिएका उम्मेदवार पराजित हुन पुगे।’