खोटाङका स्थानीय तहको प्रमुख उपप्रमुखमा अधिकांश नयाँ अनुहार विजयी भएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शालिकराम बञ्जराबाहेक अन्य सबै स्थानीय तहका प्रमुख उपप्रमुखमा नयाँ अनुहार आएका हुन्। जिल्लामा यथास्थानमा दोहोरिने अवशर बञ्जराले मात्र पाएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरमा दिपनारायण रिजाल र उपमेयरमा विणादेबी राई निर्वाचित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यसपल्ट मेयरमा कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन्।
भट्टराई र राई गठबन्धनकातर्फबाट विजयी भएका हुन्। हलेसी तुवाचुङ नगरपालिकामा भने यसअघि उपमेयरका रुपमा उदाएकी बिमला राई यसपल्ट मेयरको भूमिकामा पुगेकी छन्। तर, उपमेयरमा रमेश राउत विजयी भएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा कांग्रेसका बिश्वनाथ निरौला र उपाध्यक्षमा एमालेकी पुष्पकला भुजेलको विजयी भएको ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी चुनिएका छन्।
केपिलासगढी गाउँपालिकामा एमालेबाट चुनिएका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेवी वनको ठाउँमा अध्यक्षमा कांग्रेसका समिर राई र उपाध्यक्षमा जसपाका गुरुराज राई आएका छन्।
खोटेहाङ गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईको ठाउँमा क्रमशः गठबन्धनबाट माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी बनेका छन्।
२०७४ सालको निर्वाचनमा जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंखरबहादुर राई र उपाध्यक्षमा विमला राई विजयी भएका थिए। यसपल्ट गठबन्धनबाट अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का उदाएका छन्।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणादेवी थापा मगर चुनिएका छन्। यसअघि दिप्रुङमा कांग्रेसका भुपेन्द्र राई अध्यक्ष र सपना राई उपाध्यक्ष चुनिएका थिए।
बराहपोखरी गाउँपालिका अध्यक्ष बञ्जरा दोहोरिँदा उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राई आएका छन्। रावाबेँसी गाउँपालिकाको निवर्तमान अध्यक्ष लिलानाथ निरौला र उपाध्यक्ष समला राईको कुर्सीमा क्रमशः कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका छन्।
साकेला गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता खड्काको ठाउँ क्रमशः कांग्रेसका रविप्रकाश राई र माओवादी केन्द्रकी बिर्सिका राईले लिएका छन्।