मुगुमा निर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराइने 

मुगुमा निर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराइने भएको छ।

जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेकाले जिल्ला निर्वाचन कार्यालय मुगुले नवनिर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराउने तयारी गरेको हो।

मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले भोलि जिल्लाका नवनिर्वाचित छायानाथ रारा नगरपालिकाका मेयर, मुगम कार्मारोङ गाउँपलिकाका अध्यक्ष, खत्याड गाउँपालिकाका अध्यक्ष र सोरु गाउँपलिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायाधीश पुण्य प्रसाद सापकोटाले सपथ ग्रहण गराउने तयारी भएको बताए। उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनेछन्।

निर्वाचित जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिएको पनि उनको भनाई छ। जिल्लाका ४ वटा स्थानीय तहका ४५ वडामा २ सय ३३ जना नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्। जसमध्ये छायानाथ रारा नगरपालिकाको मेयर, उप– मेयर, १४ वडा अध्यक्ष र सदस्यहरु गरी ७२ जना, खत्याड गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित भएका छन्।

त्यस्तै सोरु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ र मुगम कार्मारोङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ९ वडाध्यक्ष र सदस्य गरी ४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। 

प्रकाशित मिति: : 2022-05-19 20:52:00

प्रतिकृया दिनुहोस्