झापाको गौरादह–३ मा बागी उम्मेदवार निर्वाचित

Breaknlinks
Breaknlinks

राजनीतिक दलका उमेदवारलाई पराजित गर्दै बागी उमेदवार दिलिप कुमार भण्डारी वडा नं-३ को वडाध्यक्षमा निर्वाचित भएका छन्। 

बागी उमेदवार भण्डारी एमालेका वडाध्यक्ष उमेदवार गजेन्द्र घिमिरेलाई ५ सय ८ मतको फराकिलो मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचन कार्यलयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भण्डारीले १ हजार ९४ मत पाएका छन्। 

भण्डारीका निकटतम प्रतिद्वन्द्वी एमालेका गजेन्द्र घिमिरेले ५ सय ८६ मत ल्याएका छन्।

गठबन्धनका तर्फबाट वडाध्यक्षको उमेदवार बनेका माओवादी केन्द्रका सेर बहादुर कार्कीले ४ सय ७२ मत प्राप्त गरेका छन् भने राप्रपाका वडाध्यक्ष उमेदवार चन्द्रजंग कार्कीले  ६६ मत ल्याएका छन्।

वडा नं ३ मा सदस्यमा एमालेका उमेदवार विजय भएका छन्।

महिला सदस्यमा कल्पना अधिकारीले ९ सय ४७, दलित महिला सदस्यमा बिमला बि.क. ९ सय ६६, खुल्ला सदस्यमा कृष्ण प्रसाद सुवेदीले ९ सय २२ र होमनाथ थापाले १ हजार ६६ मतका साथ विजय भएका छन्। 

अघिल्लो स्थानीय निर्वाचनमा एमालेको प्यानल विजय भएको वडा नं-३ मा यस पटक वडाध्यक्षमा बागी उमेदवार विजय भएका हुन्। 

बागी उमेदवार निर्वाचित भएपछि एमालेले वडा नं-३ मा वडाध्यक्षमा  शाख जोगाउन सकेन। 

प्रजातन्त्र पछि गौरादहमा बागीबाट उमेदवारी दिएर विजय भएको पहिलो पटक हो।

एमाले जिल्ला कमिटी अध्यक्ष दिपक कार्की र प्रदेश नं-१ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको बसोवास तथा एमालेको बर्चस्व कायम रहेको वडामा बागी उमेदवार विजय हुनुलाई स्थानीय बासीले निकै महत्त्वका साथ हेरेका छन्
 
गठबन्धनका साथ चुनाव लड्दा वडा नं(३ मा सहज विजयको सपना देखेको गठबन्धनका दलहरुको सपना पनि हाहाकार भएको छ। 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गरेर चुनाव लड्दा एक जना सदस्य पनि निर्वाचित भएनन्। 

चुनाव जित्न दलको टिकट लिएर उमेदवार बन्नुपर्छ भन्ने धारणालाई भण्डारीले हटएका छन्। 

जनताको सेवामा समर्पित भएमा जनताले विश्वास गर्ने र मतदान गरी भारी मतका साथ विजय हुन सकिने भण्डारीले उदाहरण पेश गरेका छन्। 

जनताको सेवा गर्न रुचाउने भण्डारी दर्जनौँ संघ संस्थामा आवद्ध भएर काम गरेका छन्।

उनले गौरादह उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा गौरादहमा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गरेर भवन निर्माणको काम सुरु गरेका थिए। 

बागीबाट विजय भएसँगै भण्डारीले आफू अहिले कुनै दलमा आवद्ध नहुने बताएका छन्।

स्वतन्त्र रहेर राजनीति भन्दा माथि उठेर जनताको सेवा गर्ने उनको भनाइ छ।

वडा नं-३ का वडा बासीको ईच्छा, चाहना र वडाको आवश्यकतालाई प्राथमिकताका आधारमा विकास निर्माणको काम गर्ने उनी बताउँछन्।

उनले आफ्नो कार्यकालमा वडामा भ्रष्टाचार नहुने बताए। 

वडा नं-३ को मतगणना सकिँदासम्म मेयर र उपमेयर दुबैमा एमालेको अग्रता कायम रहेको छ।

एमालेका मेयरका उमेदवार सुवेदीले ३ हजार ८ सय ३३ र गठबन्धनका मेयरका उमेदवार रोहित कुमार शाहले ३ हजार ६ सय ७० मत पाएका छन्।

राप्रपाका मेयर उमेदवार गोपाल पौडेलले ५ सय १० मत पाएका छन्। 

उपमेयरमा एमालेकी जलवर्षा राजवंशीले ३ हजार ७ सय ३४ र गठबन्धनका पुष्प ढकालले ३ हजार ६ सय ८४ मत पाएका छन् भने राप्रपाका उपमेयर भरिपुर्ण राईले ३ सय ८९ मत पाएकी छन्।

प्रकाशित मिति: : 2022-05-17 21:25:00

प्रतिकृया दिनुहोस्