स्थानीय तह निर्वाचनप्रति पाँच दलीय गठबन्धनभित्रै असन्तुष्टि व्यक्त हुन थालेको छ। स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला संयुक्त रूपमा चुनावमा होमिएका दलहरूले असन्तुष्टि व्यक्त गर्न गालेका हुन्।
मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी सिट जितेर पहिलो स्थानमा उभिएको छ। यसले अग्रतामा पनि पहिलो नम्बरमै छ। त्यस्तै दोस्रोमा रहेका नेकपा (एमाले)ले पनि चुनावमा धाँधली भइरहेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएको छ।
अहिलेसम्म ७२ पालिका जितेर तेस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्र भने मत परिणामबाट सन्तुष्ट नै देखिएको छ। पाँच दलीय गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले असन्तुष्टि व्यक्त गर्दै आएको हो।
उनीहरूले गठबन्धनको समीक्षा हुनुपर्ने र यसको फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र लिएको आरोप लगाइरहेका छन्। अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले चार पालिका जितेको छ। ती मध्ये दुई पालिकामा यसअघि नै निर्विरोध निर्वाचित भएको थियो। समाजवादी ५९ पालिकाको प्रमुख पदमा अग्रता लिइरहेको छ।
त्यस्तै जनता समाजवादी पार्टीले अहिलेसम्म तीन पालिकाको प्रमुख जितेको छ। भने, २९ पालिकामा अग्रता लिइरहेको छ। जनमोर्चाले भने पालिकामा खाता नै खोल्न सकेको छैन।
जबकी नेपाली कांग्रेसले १४७ पालिका प्रमुख जितेर अग्र स्थानमा छ। अझै १६२ पालिकामा कांग्रेसले अग्रता लिइरहेको छ। ७२ पालिका जितेको माओवादीले ४७ पालिकामा अग्रता लिइरहेको छ।
यसरी गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र फाइदा लिएको भन्दै अन्य दलले असन्तुष्टि व्यक्त गर्न थालेका हुन्। नेकपा एकीकृत समाजवादीका नेताहरूले चरम असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यस विषयमा पार्टीभित्र समीक्षा गर्ने बताएका छन्। मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन्।
स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए। उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताए।
‘हामी निर्वाचनको गम्भीर समीक्षा गर्नेछौं। गठबन्धनको पनि समीक्षा हामी गर्नेछौ,’ अध्यक्ष नेपालले भने, ‘समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला।’
त्यस्तै समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि चुनावी परिणाम सकारात्मक नबनेको बताए। गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समीक्षा गरिने उनको भनाइ छ। मंगलबार संसद् बैठकबाट निस्किँदै पार्टीका खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, उत्साहजनक छैन। कसरी अगाडि जान्छ भनेर हामी छलफल गर्नेछौं।’
त्यस्तै पार्टीका अर्का नेता जीवनराम श्रेष्ठले गठबन्धन आफ्नो पार्टीका लागि प्रभावकारी नबनेको प्रतिक्रिया दिए। अहिले नै निचोडमा पुग्ने अवस्था त नबनेको भन्दै पार्टीभित्र गम्भीर समीक्षा गरिने बताए।
‘अहिले नै निचोडमा पुग्ने अवस्था त बनिसकेको छैन। तर, हाम्रो लागि गठबन्धन प्रभावकारी नभएको देखियो। सबै परिणाम आइसकेपछि समीक्षा गर्नेर्छौं।’ उनले भने।
जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गठबन्धनले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मात्र फाइदा पुगेको बताए। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताए।
‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले केही लाभ लिए। तर, उनीहरूले पनि सोचेजस्तो लाभ लिन सकेनन्,’ उनले भने। उनले आफू स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा रहेको बताए। स्थानीय स्तरको विषयमा स्थानीय तहमा बसेका नेता तथा कार्यकर्तालाई धेरै विषय थाहा हुने भएकाले केन्द्रबाट हस्तक्षेप नगरेको अवस्थामा अझ राम्रो परिणाम आउन सक्ने उनको भनाई थियो।
उनले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताए। नेपालको लोकतन्त्र हुर्कदै गरेको अवस्थामा रहेको भन्दै बच्चाले फोहोर गरेको जस्तो अलिअलि फोहोर भएको बताए।
गठबन्धनप्रति नेकपा एमालेले पनि असन्तुष्टि जनाउँदै आएको छ। गठबन्धनका कारण आफ्नो पार्टी कमजोर बनेको एमालेको ठहर छ। राम्रो सम्भावना रहेको क्षेत्रमा पनि गठबन्धनका कारण हार्न पुगेको भन्दै एमालेले गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ।