देउवा र मोदीबीच द्विपक्षीय वार्ता : अरुण– ४ जलविद्युतसहित ६ सम्झौतामा हस्ताक्षर

लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ।

सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण– ४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल–भारतका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तामा ६ वटा सम्झौतामा हस्ताक्षर भएको छ। लुम्बिनी र कुशीनगर बीच भगिनी सम्बन्ध स्थापना गर्न सहमति पनि भएको छ।

अरूण– ४ को बाँधस्थल भोटखोला गाउँपालिका– ४ र ५ स्थित अरूण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ।

बाँधमार्फत अरूण नदीको पानी फर्काएर २.५५ किलोमिटर सुरूङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) मा लगिनेछ। डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरूङमार्फत मकालु गाउँपालिका– ३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत उत्पादन गरिनेछ।

विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरूङमार्फत पानीलाई पुनः अरूण नदीमा खसालिने छ। यो आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमश: करिब ६२ र ७७ किलोमिटर टाढा छन्। कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ। बाँध क्षेत्र कोसी राजमार्गमै पर्छ। विद्युतगृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ।

विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत करिब ७९ अर्ब १२ करोड रूपैयाँ छ। आयोजनाबाट वार्षिक औसत २ अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।

आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी नेपाल आएका हुन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, राजदूत शर्मालगायत थिए।

प्रधानमन्त्री मोदी नेतृत्वको प्रमण्डलमा परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका सहसचिवहरु र काठमाडौंस्थित भारतीय दूतावासका कार्यबाहक राजदूत नाम्ग्या खम्पा सहभागी थिए।

प्रकाशित मिति: : 2022-05-16 15:01:00

प्रतिकृया दिनुहोस्