दाङमा दिउँसो ३ बजेसम्म ५६ प्रतिशत मत खसेको छ। जिल्लाका १० पालिकाका ९९ वडामा भइरहेकाे मतदानमा ५६ प्रतिशत मत खसेकाे प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ।
जिल्लामा ३५ सय सुरक्षाकर्मी र २५ सय कर्मचारीहरुलाई मतदान स्थलमा खटाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्दैछ।
याे समाचार तयार पार्दासम्म जिल्लमा कुनै अप्रिय घटना भएकाे छैन।
दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्रहरु छन्। जसमा २ लाख ८१ पुरूष, २ लाख ९ हजार ९९ महिला र २ अन्य गरी ४ लाख ९ हजार ९ सय २ मतदाता छन्।
जिल्लाका १० पालिकामा ७० पुरुष र १० महिला गरी ८१ जना प्रमुख तथा अध्यक्षमा र १७ पुरुष र ४६ महिला गरी ६३ जना उपप्रमुख तथा उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।
यसैगरी वडा अध्यक्षमा ४ सय ८२ पुरुष र १९ महिला गरी ५ सय १ जना प्रतिस्पर्धामा छन। महिला सदस्यमा ३ सय ९५, दलित महिला सदस्यमा ३ सय ५५ र सदस्यहरुमा ७ सय ६६ पुरुष र ४७ महिला गरी ८ सय १३ उम्मेद्वार छन्।
जिल्लामा कुल १ हजार ३ सय ३५ पुरुष र ८ सय ७२ महिला गरी २ हजार २ सय ७ उम्मेदवार रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बाहेक अन्य सबै स्थानमा मतदान भइइरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। तुलसीपुर– १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार लबरु चौधरीको बिरामी भएर मृत्यु भएपछि निर्वाचन जेठ ३ गते सरेको छ।
त्यस क्षेत्रमा उनका छोरा प्रदीप चौधरीले उम्मेदवारी दिएका छन्।