दु:खमा बेवास्ता, चुनावमा सुविधा

०७४ को स्थानीय निर्वाचनमा झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईले बराबर आठ हजार दुई सय ७५ मत पाए । गोलाप्रथामा काफ्ले विजयी भएकी थिइन् । तेस्रो स्थानमा रहेका माओवादीका विमलकुमार संग्रौलाले एक हजार नौ सय नौ मत पाएका थिए । यो यस्तो उदाहरण हो, जसले निर्वाचन एक–एक मतको अंकगणितको खेल हो भन्ने दर्शाउँछ । त्यसैले दलहरू निर्वाचनका वेला एक–एक मतमा नजर लगाउँछन् र मतदान केन्द्रसम्म पुर्‍याएर आफ्नो अंक बढाउन चाहन्छन् । यसैका लागि उनीहरूले अहिले सुविधासम्पन्न गाडीमा सहरबाट मतदाता गाउँगाउँ लैजादै छन् ।

०७४ मा एक महानगरसहित तीन सय १२ पालिकामा पाँच सय मतको अन्तरले हारजित भएको थियो । त्यसैले अहिले विभिन्न दल र उम्मेदवारहरू सहरमा रहेका आफ्ना मतदाता गाउँ लैजान हरसम्भव प्रयास गरिरहेका छन् । पैसा खर्चेर मतदाता लग्न तँछाडमछाड गरिरहेका छन् । कोभिड कालमा दु:खकष्टसहित गाउँ हिँडेका नागरिकको उद्धारमा भने उनीहरूले खासै ध्यान दिएका थिएनन् । 

नि:शुल्क बस सेवाबारेको सूचना विभिन्न दलका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको–राख्यै छन् । एमाले नमोबुद्ध–काठमाडौं सम्पर्क मञ्चका शंकर गिरीले लेखेका छन्, ‘भोट हाल्न काठमाडौंबाट नमोबुद्ध नगरपालिकाको कोटतिमालतर्फ रुटमा जानुहुने काठमाडौंमा बसोवास गर्नुहुने सम्पूर्ण महानुभावलाई यातायातको व्यवस्था गरिएको छ ।’ एमालेकै उमेश खड्का लेख्छन्, ‘भीमेश्वर नगरपालिका– ७ मा २८ र २९ गते जानका लागि बसको व्यवस्था छ । दुवै दिन बिहान ७ बजे जडीबुटीबाट बस जाने हुँदा समयमै उपस्थित हुन अनुरोध गर्दछु ।’

प्रकाशित मिति: : 2022-05-12 14:14:00

प्रतिकृया दिनुहोस्