मौन अवधिमा भोट माग्दै रतुवामाईका मेयर, विरोध गर्दा स्थानीयलाई धम्की ! 

Breaknlinks
Breaknlinks

मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ। मतदानको ४८ घण्टा अघिदेखि लागू हुने माैन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हाे। याे अवधिमा कुनै पनि उम्मेदवारकाे पक्षमा प्रचारप्रसार वा लविङ गर्न पाइँदैन।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारवाही गर्न सक्ने निर्वाचन आयोगलाई अधिकार छ।

तर, मौन अवधिमा रतुवामाई नगरपालिकाका मेयर नै चुनाव प्रचारप्रसारमा सरिक भएको भिडियो सार्वजनिक भएको छ। मंगलबार राति १२ बजेबाट सुरु भएको मौन अवधि ३० गते हुने स्थानीय निर्वाचनसम्म लागू हुने भएपनि मतदातालाई प्रभावमा पार्न आचारसंहिताविपरीत जनप्रतिनिधि नै भोट माग्दै हिँडेको भिडियो सार्वजनिक भएको हो।

२०७४ सालमा नेपाली कांग्रेसबाट विजयी भएका रतुवामाईका मेयर रविन राई बिहीबार बेलुका ५ नम्बर वडामा भोट माग्दै हिँडेका हुन्। त्यस क्रममा स्थानीयसँग मेयर राईको वादविवाद समेत भएको थियो।

विवाद चर्कँदै गएपछि मेयर रविन राईले स्थानीयलाई 'के गर्न सक्छौ गर...' भन्दै धम्की दिएका छन्। राईले आफ्नो पदीय जिम्मेवारीको ख्यालसमेत नगरी आफूलाई गुन्डागर्दी शैलीमा प्रस्तुत गरेको भिडियोमा प्रस्टै देख्न सकिन्छ।

राईले आफ्नै पार्टीका क्रियाशील सदस्यको घरमा भेला भएर भोट माग्दा आचारसंहिताविपरीत नभएको प्रष्ट्याए। उनले अरुहरुले पनि आचारसंहिताविपरीत कार्य गरिरहेकाले आफूहरूले गर्दा केही नहुने पनि बताए।

तपाईंले नै नियमविपरीत यस्तो काम गर्न मिल्छ ? भन्ने स्थानीयको प्रश्नमा धम्क्याउँदै राई भने, 'तिमीलाई सबै कुरा भन्नुपर्छ भन्ने छैन, के सोध्नु छ नगरपालिका आऊ...।'

सोही क्रममा एक जना कांग्रेसका कार्यकर्ताले स्थानीयलाई धम्काएपछि हात हालाहालको स्थिति सिर्जना भएको थियो।

प्रकाशित मिति: : 2022-05-12 11:20:00

प्रतिकृया दिनुहोस्