मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरु हतियारसहित पक्राउ परेका छन्।
चौरजहारी नगरपालिका– १० खोलागाउँबाट बुधबार राति पैसा बाँडेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार रहेका वीरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगात रोका रहेका छन्।
निजहरुको साथबाट दुई थान खुकुरी समेत बरामद गरेको इलाका प्रहरी कार्यालय चौरजहारी जनाएको छ।
माओवादी कार्यकर्ताहरुले पैसा बाँडेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरी चौकी सर्केनाबाट खटिएको प्रहरी टोलीले काँग्रेस कार्यकर्ताहरुले घरभित्र थुनेर राखेको अवस्थामा हतियारसहित माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा नेपाली काँग्रेसका डिल्ली केसी, लालबिर ओली र डायमन केसी घाइते भएका छन्। डिल्लीको टाउकोमा, बाँया हातमा र डायमनको खुट्टामा चोट लागेको छ।
त्यसैगरी माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती पनि घाइते हुनुभएको छ। उनीहरु दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते पाँच जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।