राेल्पाकाे सुनछहरी गाउँपालिका–६ फगामस्थित धर्मशाला टोलमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले आफ्नो पार्टीको चुनावी सभामा सहभागी नहुने सर्वसाधारण जनताहरूलाई आर्थिक जरिवाना गरेका छन्।
दादागिरी शैलीमा धर्मशाला टोलका जनतालाई धम्की दिँदै कार्यकर्ताहरूले सहभागी नहुने घरबाट एक हजार एक सयको दरले आर्थिक उठाउन खोज्दा स्थानीयहरूले प्रतिकार गरेपछि उल्टो धम्की दिएको स्थानीय मन बहादुर पुन बताउँछन्।
स्थानीय रमिता पुनमगरले अघिल्लाे महिना लिवाङको भ्यू टावर उद्घाटन र माओवादी केन्द्रको कार्यक्रममा जान उर्दी गरेपनि आफू नगएको जनाएकी छन्। श्रीमान कमाउन गएको बेला आफूले घर खर्च चलाउन समेत बालबच्चा पाल्न खर्च जुटाउन गार्हो भएकाे उनी बताउँछिन्।
'गाउँमा चुनावी सभा हुँदा सहभागी नभएकाे भनी २ हजार २ सय रूपैयाँ जरिवाना माग्न आएको बेला रूपैयाँँ नभएकाे बताए। बरू भाडाकुडा दिन सक्छु गाई–भैँसी दिन सक्छु भनेपछि उनीहरू फर्केर गएका थिए,' उनले भनिन्। सोही दिन राति आफू बिना कारण अपमानित हुनुपरेकोमा आशु झार्न बाध्य भएकाे बताउँछिन्, उनी।
उता माओवादी केन्द्रका स्थानीय कार्यकर्ताले जरिवाना गर्न खोजेको स्वीकार गरेका छन्। कार्यकर्ताका अनुसार गाउँलाई एकता बनाउन यसो गरेको एक कार्यकर्ताले जानकारी दिएका छन्।
नेपालको संविधानले व्यवस्था गरेको विचार अभिव्यक्तिको स्वतन्त्र र स्वेच्छिक तरिकाले कुनै राजनीतिक दलमा संगठित हुन सभा सम्मेलन सहभागी हुन पाउने अधिकारलाई समेत ठाडो हस्तक्षेप भएको देखिन्छ।