माओवादीले आधार इलाकाको दाबी गर्दै आएको रुकुममा एमालेको पकड बलियो बन्दै गएपछि माओवादीले एमालेका कार्यकर्तामाथि आक्रमण र हत्या/हिंसा मच्याएको छ।
चुनावको प्रचार चलिरहेकै बेलामा माओवादीले एमाले कार्यकर्ताको अपहरण गरी हत्या गरेको छ। गत वैशाख १९ गते रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई माओदीले अपहरणपछि हत्या गरेको हो।
वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो। झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए भने माओवादीले एमालेका नेता कार्यर्तालाई पछि देखाइदिने भन्दै चेतावनी दिएको बताइएको छ।
घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई माओवादीका कार्यकर्ताले अपहरण गरी गायब बनाएका थिए। अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो। बेपत्ता बनाइएका एमाले कार्यकर्ताको हत्या पछि शव भेटिएपछि गाउँमा त्रास उत्पन्न भएको छ। गाउँलेहरुले असुरक्षित महसुश गरेको स्थानीयले बताएका छन्।
शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ। जिल्ला सदरकुमाममा असुरक्षित हुने भन्दै प्रहरीले नेपालगञ्ज वा बुटवल मध्ये कुनै एक ठाउँमा लैजाने भनेपछि पोष्टमार्टमका लागि बुटवल ल्याइएको हो।
माओवादीले अपहरण गरी हत्या गरेका बुढाका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले शवलाई एम्बुलेन्समा राखेर रातारात बुटवलमा ल्याएका थिए।
एमाले पोलिब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज दधिराम न्यौपानेले माओवादीले आधार इलाकामै कमजोर भएपछि हत्या र हिंसाको सहारा लिएको बताए। उनले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम समेत त्यता गर्न नसक्ने अवस्था सिर्जना गराइएको बताए। न्यापानेसहित एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेललगायतका नेताहरु हालै उक्त क्षेत्रको चुनावी अभियानका बारेमा स्थलगत जानकारी लिएर आएका थिए। त्यसबेलामा एमालेको माहोल राम्रो पाइएको र त्यहीँ माहोलले अत्तालिएर माओवादी हिंसामा उत्रिएको एमाले नेताहरुको दाबी छ।
रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ। सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ।
सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए। उनले घटनाको वास्तविकताका लागि आफैले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताए।
मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भएपनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे। मृतकको कानबाट रगत बगेको, शरिभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको देखिने एमाले नेता न्यौपानेले बताए। शवको पोष्टमार्टम बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको छ।