काठमाडौंमा देउवा–प्रचण्डको अंकमाल, रूकुम–रोल्पामा कार्यकर्तावीच मारामार

Breaknlinks
Breaknlinks

यो साता गाउँदेखि शहरसम्म स्थानीय तह निर्वाचनको माहौल तातेर चुलीमा पुगेको छ।

काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्ज, ललितपुर र विराटनगर महानगरलगायत ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धनका शीर्ष नेताहरू कुम जोडेर हिँडेका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेनाको एउटै विमानमा उडेर विभिन्न स्थानमा आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गरिरहेका छन्।

तर माओवादी प्रभावित र उद्गम क्षेत्र रोल्पा–रूकुम भने पछिल्ला दिनमा रणभूमिमा परिणत भइरहेको छ।

रूकुममा अर्थमन्त्री जनार्दन शर्मा र रोल्पामा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती आफ्नो गृहपालिकामा गएर बसेका छन्। तर, ती दुबै जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्र फरक कित्तामा उभिएका छन्।

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सत्ता स्वार्थ मिलेपनि युद्ध प्रभावित क्षेत्रका कार्यकर्ताहरूबीच कुँडिएको मन मिल्न सकेको छैन। 

दश वर्षे जनयुद्धबाट छियाछिया भएको कांग्रेसीहरूको मन माओवादीप्रति कहिल्यै नरम हुन नसक्ने उनीहरू हाकाहाकी बताउँछन्। 

केन्द्रमा काटाकाट देखिएको गठबन्धन र एमालेबीचको सम्बन्धलाई पन्छाएर ती जिल्लामा कांग्रेसले एमालेसँग चुनावी तालमेल गरेको देखिन्छ।

एमालेसँगको तालमेल र माओवादीसँगको काटाकाटलाई कांग्रेसीहरूले परिस्थितिजन्य अवस्था भनेका छन्।

विगतमा दश वर्षे जनयुद्धको क्रममा माओवादीबाट कुटिएका र मारिएका नेपाली कांग्रेसका कार्यकर्ता र तिनका नयाँ पुस्ताले फेरि उही प्रवृत्तिसँग जुध्न परेको बताृँछन्।

रूकुमका एक जना कांग्रेसी नेताले भने, ‘फेरि उनै माओवादी कार्यकताबाट कुटिन बाध्य भएका छौं। केन्द्रमा खबर गरे पनि माओवादीले चुट्न छाडेको छैन। हामी पनि अब हातमा दही जमाएर बस्ने अवस्थामा छैनौं।

युद्धदेखि शान्तिसम्म निरन्तर २६ वर्ष माओवादी आतंकले रोल्पाली कांग्रेसीहरू आजित भएको नेपाली कांग्रेस रोल्पाका सहसचिव सुनिलकुमार वली बताउँछन्।

प्रकाशित मिति: : 2022-05-11 13:00:00

प्रतिकृया दिनुहोस्