जनताबाट पाएको अपार माया नै मेरो विजय हो: सुमन आचार्य

सिंजा गाउँपालिकामा दलहरुले अध्यक्षमा उठाएका उम्मेदवारहरुमध्ये सबैभन्दा कान्छा हुन्, सुमन आचार्य। कम उमेरका उनलाई जनताले राजनीतिमा परिपक्व नेताको रुपमा लिएका छन्।

नेकपा एमालेबाट उम्मेदवार बनेका उनले आफूले निर्वाचनमा विजय हासिल गर्ने अवस्थामा पुगेको बताएका छन्।

‘यो अवधिमा सिंजाका छ वटै वडाका सबै गाउँमा हामी पुगेका छौं,’ उनले भने, ‘हाम्रो उम्मेदवारीलाई जनताले उमेर, उर्जा र काम गरेर देखाउन सक्ने अठोटको रुपमा लिएका छन्।’

ऐतिहासिक महत्व बोकेको सिंजा गाउँपालिकामा एमालेले निर्वाचनमा जित हासिल गरेर नमुना गाउँपालिका बनाउने प्रतिबद्धतालाई जनताले औधी मन पराएको उनले बताए।

‘जनताले मलाई तिमीजस्तो युवाबाट हामीले आश गरेका छौं भने,’ उनले भने, ‘यहाँको कला, साहित्य, इतिहास उजागरको जिम्मा तिम्रो हो भन्दा मैले ठूलो जिम्मेवारीको भारी बोक्न आँटेको महशुस गरेको छु।’

सिंजा सभ्यता, इतिहास, भाषा, साहित्य, शिक्षा, कृषि सबै क्षेत्रको विकासको सवालमा स्पष्ट योजना सार्वजनिक गरेका उनले सिंजामा ओली आएदेखि नेकपा एमालेमा जनताको आकर्षक बढिरहेको बताए।

‘श्रदय अध्यक्ष कमरेड ओलीले सिंजा सभ्यताको विषयमा बोल्दा सिंजाली जनताले नेकपा एमालेलाई आफ्नो मानेका छन्,’ उनले थपे, ‘सिंजा सभ्यताको विश्वव्यापीकरण हाम्रो पहिलो प्राथमिकता हुनेछ।’

सिभिल इन्जिनियरमा डिप्लोमा तहको अध्ययन पूरा गरेका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक तहको अध्ययन पूरा गरेका छन्।

यत्तिको युवा सिंजाको लागि उपयुक्त नेता भएको भन्दै हरेका गाउँमा उनलाई जनताले न्यानो स्वागत गरे। उनले भने, ‘हरेक बस्तीका जनताबाट पाएको अपार माया नै मेरो विजय हो।’

प्रकाशित मिति: : 2022-05-10 21:17:00

प्रतिकृया दिनुहोस्