गौरादहबासी भन्छन्: दर्जी परिवारको घर बसाउन नसक्ने सुवेदीले नगर कसरी हाक्लान ?

फाइल तस्विर
फाइल तस्विर

कहिले एउटा वडामा आएको बजेट अर्को वडामा सारेर त कहिले राहतका लागि ल्याइएको चामल लुकाएर चर्चामा आएका गौरादहका एमाले नेता छत्रपति सुवेदीको अर्को कर्तुत सार्वजनिक भएको छ।

उनले वडाध्यक्षमा सर्वाधिक लोकप्रिय काम गरेको ठहर गर्दै एमालेले नगर प्रमुखमा बढुवा गरिदिएको छ। अहिले नगर प्रमुखका रुपमा मत मागिरहेका सुवेदी जब वडा नं ५ मा पुग्छन् त्यहाँ पुगेपछि कि भाग्नुपर्छ कि सूर्य चिन्हको रुमालले मुख छोपेर हिँड्नुपर्छ।

५ वर्षमा १० विबादस्पद काम गरेका सुवेदी एमालेको ओली पक्षका हाडलाइनर नेता हुन्। स्थानीय तहको निर्वाचन हुने मिति तोकिएपछि गौरादह नगरपालिकामा एमालेले संविधान सभा सदस्य एवं गौरादहका पूर्व गाविस अध्यक्ष दीपक कार्कीलाई उमेद्वार बनाउने हल्ला चलायो। केही एमालेले दीपक कार्की उम्मेद्वार बन्ने भए भने कांग्रेसबाट चुनाव जितेका रोहित साह ‘ब्याक’ हुने सम्मको बजार हल्ला चलाए। तर, एकाएक झापामा गठबन्धन हुनेभए पछि दीपक कार्की हार्ने चुनावबाट पछि सरेको एमालेलाई नजिकबाट जान्ने बुझ्नेहरू बताउँछन्।

हार्ने चुनावमा को उठ्ने भन्ने बहस लामै चल्यो। सोही क्रममा ५ वर्षमा सर्वाधिक बिबादमा आएका छत्रपति सुवेदीलाई एमालेले आफ्नो उम्मेद्वारका रुपमा उभ्यायो।

सुवेदी वडाध्यक्ष छँदा वडा नम्बर ५ मा लामो समयदेखि बसोबास गर्दै आएका रुद्रप्रसाद दर्जीको परिवारको बिल्लीबाठ भयो। स्थानीय सरस्वती राईको जग्गामा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएका दर्जी परिवार राईकै जग्गा ठेक्कामा कमाएर जीविकोपार्जन गर्दै आएको थियो। वडाले दर्जी परिवारका लागि घर बनाइदिने घोषणा गर्‍यो। घर बन्ने कुरा सुन्दा रुद्रप्रसादका आँखाबाट खुसीका आँशु झरे। उनलाई सपना झैं लाग्यो, आफ्नो घर बन्ने बिषय।

दर्जी परिवारको घर पनि बन्यो। तर, दर्जी परिवार घरमा बस्न पाएनन्। तत्कालिन वडाध्यक्ष सुवेदीले भोट बटुल्न मात्र सेटिङमा ककाम गरेका रहेछन्। अर्काको नम्बरी जग्गामा नगरपालिकाले घर बनाइदिएको भन्दै दर्जी परिवारलाई लखेटियो। हाल उनीहरू सपनाको सुन्दर घर कल्पना गर्दै खोलाको बगरमा रात कटाइरहेका छन्।

जनता आवास कार्यक्रम अन्तर्गत ३ लाख ३० हजार रुपैयाँ लगानी गरेर बनाइएको दुई कोठे उक्त घर सरस्वती राईको जग्गामा बनेको थियो। वडा कार्यलयले जग्गाको साँध (सीमाना) समेत निर्धारण नगरी अर्काको जग्गामा किन घर बनाइदियो स्थानीयले अहिले यही प्रश्न गरिरहेका छन्। दर्जी परिवारको लागि बनाइएको उक्त घर बिदेशमा बस्दै आएका जग्गा धनी राई परिवारले भत्काइदिने भनेपछि दर्जी परिवार उक्त घरबाट विस्थापित भएका हुन्।

‘जग्गा धनीले घर खाली गर्नु भनेपछि के गर्नु हजुर खाली गर्नै पर्‍यो,’ रुद्रप्रसाद दर्जीले भने। तत्कालिन ५  वडाका  अध्यक्ष छत्रपति सुवेदीले समेत गल्ती स्वीकारी सकेका छन्। सरकारी निकायले नै जग्गाको नाप नक्शा तय नगरिकन अर्काको जग्गामा सरकारी बजेट प्रयोग गरेर घर बनाइदिन्छ भने त्यो भन्दा ठूलो नीतिगत भ्रष्टाचार के हुन्छ, स्थानीयले यतिबेला यही प्रश्न दोहोर्‍यार सोधिरहेका छन्। नम्बरी हो कि ऐलानी जग्गा हो भन्ने थाहै नपाई व्यक्तिले मौखिक रुपमा जग्गा दिन्छु भनेको भरमा वडाले प्रक्रिया पूरा नगरी घर बनाउन मिल्छ भन्ने प्रश्नमा वडा अध्यक्ष सुवेदीले भने,‘यहाँ हामी चुकेकै हो, हामीबाट कमजोरी भएकै हो।’

गाउँ गाउँमा सिंहदरबार बनाउने सपना बाडेर सामान्य प्रक्रिया पनि पूरा नगरी जनप्रतिनिधिबाट यसरी राज्यको पैसा जथाभावी खर्च गरेर कमजोरी स्वीकारेकै भरमा उन्मुक्ति पाइन्छ कि पाइदैन ? प्रश्न आफैमा गम्भीर छ।

घर निर्माणमा पनि अनियमितताको आशंका

२० फिट लम्बाइ १५ फिट चौडाइको दुई कोठे घर, जस्ताको छाना सम्पूर्ण कुकाठ लगाएर निर्माण गरिएको घरमा ३ लाख ३० हजार रुपैयाँको खर्च भएको देखाइएको छ।

जबकी १५ फिट चौडाइमा पनि ६ फिटको त बरन्डा नै छ भने १ जना मिस्त्रीदेखि बाहेक सम्पूर्ण काम दर्जी परिवारका सदस्यले श्रमदान गरेका थिए। घर निर्माणमा आफै लागेर काम गरेका हुनाले के कति सामान लाग्यो रुद्रप्रसाद दर्जीलाई प्रष्टै थाहा छ।

दर्जीकाअनुसार उक्त घर निर्माणमा ६० बोरा सिमेन्ट, २ ट्याक्टर इँटा, ३ ट्याक्टर वालुवा, २ ट्याक्टर ढुंगा, ३ बण्डल जस्तापाता र केही काठ लागेको छ। यी सम्पूर्ण सामानको बजार मुल्य जोडेर मिस्त्रीको ज्याला जोड्दा पनि २ लाख भन्दा बढी नलाग्ने बताइन्छ। सुवेदी जता हात हाल्छन् उतै चुक्छन्। जनताको कामभन्दा पार्टीको काममा बढी समय दिने सुवेदीलाई नगर प्रमुख बनाए गौरादह नगरपालिकाको भविष्य नै संकटमा पर्ने आम मतदाताको बुझाइ छ।

प्रकाशित मिति: : 2022-05-10 08:53:00

प्रतिकृया दिनुहोस्