महँगो मतदानको मार

निर्वाचन प्रणाली र प्रयोग हेर्दा हाम्रो समाज पुँजीवादबाट समाजवादतर्फ होइन, बरु पुँजीवादबाट झन् दलाल सामन्तवादतर्फ उन्मुख भइरहेको देखिन्छ

नयाँ पत्रिका दैनिक

तारालाल श्रेष्ठ

नेपालमा वि.सं. २००४ साल जेठ २९ गते काठमाडौँ नगरपालिकाको निर्वाचन सम्पन्न भएको इतिहास छ । यही निर्वाचनलाई आधुनिक नेपालको पहिलो निर्वाचन मानिन्छ ।

यद्यपि, नेपालमा प्राचीन कालदेखि विभिन्न समुदाय बसेर साझा नेतृत्व छनोट गर्ने मौलिक परम्परा भने विद्यमान थियो । आज पनि नेपालका विविध समुदायमा परम्परागत अगुवा छानिन्छन् । तर, विडम्बना, आज ७५ वर्षअघि सुरु भएको नेपालको आधुनिक निर्वाचन इतिहास निकै खतरनाक मोडमा उभिन पुगेको छ । 

चुलिँदो चुनावी खर्च : नेपालमा निर्वाचन निकै महँगिँदै गएको छ । टिकट पाउन शक्तिकेन्द्रको ढोका ढुक्नुपर्ने, स्वार्थ समूहकहाँ धाउनुपर्ने र टिकट पाएपछि निर्वाचन जित्न पैसाको खोलो बगाउनुपर्ने अवस्थाले चुनावी खर्च निकै चुलिँदै गएको छ । चुनाव जित्नका लागि उम्मेदवारले सबै रकम जोहो गर्दैनन्, उनीहरू उद्यमीलाई चन्दा दिन दबाब दिन्छन् ।

उद्यमीले अपारदर्शी किसिमले उम्मेदवार तथा दलका उच्चपदस्थलाई चन्दा दिन्छन् । स्वार्थ, धम्की, दबाबबाट प्राप्त चन्दा वैधानिक तथा नैतिक कर्म हुँदै होइन । यसर्थ, यस्ता चन्दा ‘एसी–पे चेक’बाट दिइन्न । निर्वाचनको चलखेल चरमोत्कर्षमा पुग्दै गर्दा कसले कति कसलाई चन्दा दियो वा लियो भन्ने लेखाजोखा गर्ने चित्रगुप्त चिन्न सकिन्न । यसै पनि निर्वाचन खर्च एकपक्षीय नभई बहुपक्षीय रूपमा हुने गर्छ । 

प्रकाशित मिति: : 2022-05-06 12:56:00

प्रतिकृया दिनुहोस्