बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री निरास हुँदै फर्किए काठमाडौं

file photo
file photo

बागी उम्मेदवारलाई फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौं फर्किएका छन्।

भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका हुन्।

दुवैजना शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन्। बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन गएका थिए।

बिहीबार दिनभर उनलाई मनाउन अनेकन प्रयास गरेका थिए। तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राखेका थिए। घरमै पुगेर फकाउने प्रयास गरेका गृहमन्त्री खाँडलाई बागी उम्मेदवार पौडेलले आफु पछि नहट्ने बताएका थिए।

पाैडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुगेका थिए। बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि उनी उम्मेदवारी फिर्ता लिन तयार भएनन्। त्यो बीचमा उनीहरूले विभिन्न अफरसमेत गरेका थिए।

प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए। उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए। तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो।

केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका थिए। उनले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेदवारी फिर्ता लिन लगाएका थिए। भरतपुरबाट प्रचण्ड छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छिन्।

यदि पौडेलले उम्मेदवारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ। जसले गर्दा प्रचण्डको दबाब पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयत्न गरिरहेका हुन्।

उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेललाई नेपाली कांग्रेसले कारवाहीको तयारी गरेको छ। शुक्रबार बेलुकासम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको छ। तर, उनले पार्टीले अनुशासनका कारवाही गरे भोग्न तयार रहेको बताएका छन्।

प्रकाशित मिति: : 2022-04-29 14:07:00

प्रतिकृया दिनुहोस्