जाजरकाेटको नलगाड नगरपालिकाकाे उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ।
स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ।
नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ।
नलगाड नगरपालिका-२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन् । उनले राजीनामा पत्र बुझाए पनि उनकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेकाे छैन । खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा राजीनामा पत्र लगेका थिए। तर श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएकाे छ।