स्थानीय तहको निर्वाचनका लागि हेटौंडामा सत्तारुढ गठबन्धनको पहिलो सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
मंगलबार हेटौंडा १ चाइनाक्वाटरमा कार्यालय उद्घाटन गरिएको हो।
गठबन्धनबाट हेटौंडा उपमहानगरका मेयर र उपमेयर उम्मेदवार मीनाकुमारी लामा र राजेश बानीयाँले संयुक्त रुपमा नरिवल फुटाउँदै कार्यालयको उद्घाटन गरेका हुन्। उनीहरुले सम्पर्क कार्यालयको रिवन समेत काटेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई जितले मात्रै हेटौंडा उपमहानगरबासीको हित हुने बताइन्।
उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न कांग्रेस, माओवादी, नेकपा एससहित गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्तालाई अनुरोध गरेकी थिइन्।
‘जिल्लाको हरेक आन्दोलनमा सँगै भएपनि चुनावी मैदानमा फरक रहँदै आएका थियौं तर अहिले गठबन्धनमा रहेका छौं’, उनले भनिन्, ‘आन्दोलनबाट प्राप्त परिवर्तन र उपलब्धीलाई संरक्षण गर्दै मुलुक र गणतन्त्र जोगाउनका गठबन्धनले जित्नु आवश्यक छ।’
यस्तै उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पूर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने बताए। वडा अध्यक्ष हुँदा वडाको विकासमा व्यक्तिगत एवम् संस्थागत रुपमा धेरै काम गरेको उदाहरण पेश गर्दै उनले अब नगरको विकासमा लागिपर्ने बताए।
पूर्वाधार निर्माणमा आफूले हेटौंडा–५ मा गरेको काम जस्तै नगरभर गर्ने योजना रहेको उनले सुनाए। नेपाली कांग्रेस हेटौंडा १ नम्बर वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य जानकी गिरी, वडा अध्यक्षका उम्मेदवार सविन न्यौपानेलगायतको उपस्थिति थियो।