नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुङ्गो लगाएको छ। प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो।
एमालेले प्रमुख–उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुगुका आठ, कालीकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका पाँच तहका प्रमुख–उपप्रमुख टुङ्गो लगाएको हो। हुम्लाका सात स्थानीय तहका प्रमुख पदमात्र टुङ्गाएको छ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख रहेका छन्।
प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिएको बताए। दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख÷उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो। केन्द्रले पनि आइतबार राति नै ती पालिकाको टुङ्गो लगाएको छ।
आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुङ्गाएको छ।
डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरको प्रमुख–उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन। कर्णालीअन्तर्गत सुर्खेतमा नौ, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा छ, जाजरकोटमा सात, कालीकोटमा नौ, जुम्लामा आठ, मुगुमा चार, हुम्लामा सात र डोल्पामा सात स्थानीय तह छन्।
राप्रपाको वीरेन्द्रनगर प्रमुखमा गिरी
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले वीरेन्द्रनगरको नगर प्रमुख पदमा मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा वीरेन्द्रनगरका पूर्व नगर प्रमुख रहेका छन्। यस्तै, राप्रपाले नगर उपप्रमुख पदमा अञ्जु बस्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राप्रपाले पनि आज मनोनयन दर्ता गर्ने तयारीमा छ।