सुरेन्द्र राना ‘घुमफिरे’
‘आग्रे- द आईरन डिगर’ राेल्पाकाे जेलबाङस्थित नेपालकै ठूलाे फलाम खानीको कथावस्तुमा आधारित, डकुमेन्ट्री हाे। मगर जातीको बाहुल्यता रहेकाे जेलबाङका पुर्खाहरुले जीविकोपार्जनको लागि जोखिम मोलेर परम्परागत घरेलु प्रविधिबाट निकालिएको फलाम प्रशोधन गरेर घरेलु औजार बनाइएको कथा यसमा समेटिएकाे छ।
समय : शनिबार दिउँसो २ बजे
स्थान : यालामाया केन्द्रकाे बग्गीखाना हल।
‘फिल्म साउथ एसिया– २०२२’ को तेस्रो दिन, हल दर्शकले खचाखच भरिएको थियो। सन्नाटा छायोकाे केही समयमै फिल्मकाे कास्टिङ सुरू भयाे।
वि.सं. २०३० सालतिर नेपाल सरकारले वन जंगल मासियो भनेर अधिराज्यभरका खानी बन्द गरायो। यो सँगै देशकै ठूलो जेलबाङकाे फलाम खानी पनि बन्द भयो। पूर्व मन्त्री बलराम घर्ती मगर र जेलबाङको प्रधान पञ्च खोजवीर बुढा मगरको पहलमा जिल्ला पञ्चायत रोल्पाले दुई गुणा कर असुल गरेर फलाम खानी सुचारु गर्ने अनुमति दियो।
प्रत्येक प्रशाेधन भट्टीबाट वर्षेनी रू. ५० कर तिर्ने गरी फलाम खानी सुचारू भएको जेलबाङ निवासी पूर्व शिक्षक तथा समाजसेवी चन्द्रबहादुर बुढा मगर (क.शेष) ले बिएल नेपाली सेवालाई बताए। उनी तत्कालीन प्रधानपञ्च खोजवीर बुढा मगरको माहिला छोरा समेत हुन्।
इतिहासअनुसार नेपालभर विभिन्न क्षेत्रमा सञ्चालित खानीहरुमा विशेषगरी मगर जातीहरुको संलग्न हुन्थे। उनीहरु खानी सम्बन्धी गहिरो ज्ञाता थिए, खानी उत्खनक कार्यमा निपूर्ण थिए।
त्यसबेला जेलबाङलगायत वरिपरि १२ गाउँका मानिसहरुको आ-आफ्नै नीजि भट्टी सञ्चालनमा थियो। जसमा जेलबाङको फलाम निकै प्रसिद्ध थियो। विशेषगरी खिया नलाग्ने र उच्च कोटीको यहाँकाे फलाम देशैभरि प्रसिद्ध थियो। यहाँकाे फलामद्वारा घरेलु औजारसहित राज्य सत्ताका हात हतियार निर्माण गरिन्थ्यो।
३० सालमा खानी बन्द भएपछि त्यहाँको मानिसहरु कामको खोजीमा कालापाहारलगायत भारतको विभिन्न भागमा भौतारिन बाध्य पारेको समाजसेवी बुढामगरले बताए। २०४५/४६ सालतिर राज्यद्वारा वन जंगल मासिएको भन्दै डर त्रास देखाएर प्रशासनले पुन:प्रतिबन्ध लगायो। जेल्बाङको फलाम खानी पूर्ण रुपमा बन्द भयो। जेलबाङीलगायत हजारौँ जनताको रोजी–रोटी गुम्यो। दोस्रो पटक जेलबाङी जनता कामविहिन भए। जसको कारण कालापाहारलगायत भारतका विभिन्न ठाउँमा कामको खोजीमा पलायन हुन बाध्य भए, जेलबाङी जनता। यही कथामा वरिपरि घुमेकाे छ, ‘आग्रे- द आईरन डिगर’।
आग्रे- द आईरन डिगर’ शनिबार यालामाया केन्द्रमा प्रदर्शन गरिएको डकुमेन्ट्री थियो। त्यसमा रोल्पा जिल्लाको जेलबाङ गाउँको फलाम खानीका थुप्रै कथा समेटिएकाे छ।
‘उतिबेला जेलबाङ व्यापारिक केन्द्र थियो, निकै चहलपहल हुन्थ्यो,’ बाल्यकालको स्मरण गर्दै बुढा मगर भन्छन, ‘मेला नै लाग्ने गर्दथ्यो नि।’
सहायक उत्पादन प्रबन्धक प्रकाश रोकामगरकाअनुसार वृत्त चित्रको मुख्य उद्देश्य लोप भएको फलाम खानीको इतिहासलाई बचाइ राख्न र संरक्षण गर्न संग्रहलाय निर्माण गरिएको बताए।
‘यही कथालाई जीवित राख्न देश विदेशमा रहेका जेलबाङी युवाहरुको संयुक्त प्रयास हो,’ उनले भने।
जेलबाङ समाज सेवाको आर्थिक सहयोगमा जेलबाङमा खानी संग्रहलायको निर्माण गरिएको छ। पुरानो प्रविधिबाट फलाम उत्खनन गरेर बनेका विभिन्न हात हतियार, फोटोलगायत वस्तुहरु राखिने समाजका सदस्य समेत रहेका राेका मगरले बताए। डकुमेन्ट्रीले फलाम खानीको इतिहासलाई श्रव्य/दृश्यमार्फत् प्रशस्त रुपले जानकारी दिनेछ।
वि.सं. २०४६ सम्म जेलबाङ पहाडी फलामको व्यापारिक केन्द्र मानिन्थ्यो। चलचित्रले नेपाल सरकारले फलाम खानी बन्द गरेपछि गाउँलेको जीवनमा पारेको असरलाई देखाइएको छ। परम्परागत तरिकाद्वारा यही फलाम खानी उत्खनन र प्रशाेधन गरिने विधिकोबारे ‘आग्रे’ वृत्त चित्रमा देखाइएको छ।
खानीका एक मात्र जीवित उत्खनक रजबहादुर बुढा मगर
फिल्मका प्रमुख पात्र ८६ वर्षीय रजबहादुर बुढा मगर त्याे खानीमा काम गर्ने एकमात्र जीवित उत्खनक हुन्। उनी त्यसबेला खानी प्रशाेधन टोलीका प्रमुख थिए। बुढा मगरको जीवन्त अभिनयले फिल्म झन रोचक बनेकाे छ।
उमेरले वृद्ध र खुट्टामा चोट लागेका उनलाई ठूलो पर्दामा आफ्नो फिल्म हेर्न पहिलो पटक निर्माता संस्थाले काठमाडाैँ भ्रमण गरायाे। यही मेसोमा उनी पहिलोपटक नारयणहिटी दरबारको पनि पुग्ने माैका पाए। फिल्म सकिपछि ठूलो पर्दामा आफैलाई प्रत्यक्ष हेर्न पाउँदा निकै खुसी लागेको उनकाे भनाइ छ।
निर्देशक अनिल बुढा मगरले खानीको कथासँगै जीवनको उत्तार्धमा पुगेका रोका मगरको एकल जीवनबारे पनि थुप्रै चित्रण गरेका छन्, डकुमन्ट्रीमा। उनका ३ भाइ छोरा र ४ बैनी छोरी थिए। उनकाे बुढेसकालकाे एक मात्र साहरा थिए, कान्छा छाेरा। उनी पनि जनयुद्ध चलिरहेका बेला विदेश जानकाे लागि पासापाेर्ट बनाउन काठमाडाैँ जाने क्रममा थानकाेटबाट सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए। राज्यबाट उनलाई माओवादी आतंकारीको आरोपमा हत्या गरिएको कथा रजबहादुरले सुनाउँदाको दृश्य निकै मार्मिक छ।
खानी बन्द भएपछि खलबलिएकाे जेलबाङ
नेपाल सरकारले खानी बन्द गराएर फलाम उत्खनन र प्रशाेधन गरी जीविका चलाएका गाउँलेहरुको जिन्दगीले आर्कै मोड लियो।
रोल्पाको सुनछ्हरी गाउँपालिका- ७ मा पर्छ, जेलबाङ। २०५२ सालमा माओवादीद्वारा सञ्चालित युद्धको थालनी यहीबाट भयाे। वर्ग संघर्ष हुँदै १० वर्षे जनयुद्धमा जेलबाङी जनताले लामो समय त्रासदी र कहाँलिलाग्दो जीवन बाँचेको गाउँहरु सुनाउँछन। युद्धमा जेलबाङले नेपालमै सबैभन्दा धेरै मानवीय क्षति बेहाेर्न पुग्याे। माओवादी विद्रोही र राज्यपक्षबाट कुल ७३ जनताले ज्यान गुमाए। कैयौ मानिस घाइते अपांग भए।
०००
जेलबाङ समाज सेवाले निर्माण गरेको ‘आग्रे’ डकुमेन्ट्रीको निर्देशन अनिल बुढामगरले गरेका हुन्। भने, कथा विष्णु सन्यासले लेखेका हुन्। युवा निर्देशक बुढामगरले यसअघि निर्देशन गरेकाे आदिवासी फिल्म ‘लोम्बा’ले विभिन्न नेपाली तथा अन्तराष्ट्रिय फिल्म महाेत्सवबाट चर्चा बटुल्न सफल छन्। केही पुरस्कृत पनि भएका छन्।
देश विदेशमा रहेका जेलवाङी युवाहरुले फलाम खानीको इतिहासलाई संग्रहलाय निर्माण गरी फिल्मद्वारा प्रस्तुत गरेको प्रयास निकै प्रसंसनीय छ। यो फिल्मले पूर्ण रुपमा बन्द भएको फलाम खानीको इतिहासलाई जीवित राख्न र भविष्यका पीडीलाई समेत बहुमुल्य ज्ञानको खजनाको रुपमा संग्रहित हुनेछ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया