अमेरिकाको मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारी नेपालबाट फर्केलगतै उनका लागि अर्काे एक सुखद समाचार सार्वजनिक भएको छ। समाचारअनुसार, आगामी जुलाइ १९ मा हुने डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा उनलाई चुनौति दिइरहेकी एनेल म्याक्कोलिमले उम्मेद्वारी फिर्ता लिएपछि डा. भण्डारी बिना प्रतिस्पर्धा नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि अनअपोज्ड भएका हुन्।
अमेरिकी राजनीतिक भाषामा अन-अपोज्ड भनिने यो अवस्था एक किसिमले निर्विरोध जस्तो भए पनि ठ्याक्कै त्यस्तो हैन र भन्न पनि मिल्दैन। चाँहिने संख्या वा त्योभन्दा कम संख्यामा उम्मेद्वारी परे पनि उम्मेद्वार आकांक्षीहरू चुनावमा जानैपर्छ र रजिष्टर्ड पार्टीका मतदाताहरूको मत लिनैपर्छ। मत संख्याले परिणाममा असर नपारे पनि प्रक्रिया पूरा नगरी उम्मेद्वारी जितिन भन्ने हुँदैन।
दोस्रो कार्यकालका लागि उम्मेद्वारको आकांक्षी रहेका डेलिगेट डा. भण्डारीका लागि प्राप्त भएको यो अनअपोज्ड स्थितिले उनको राजनीतिक करिअरमा खास अर्थ राख्छ। अब उनले प्राइमरी चुनावको तयारी नगरी एकैपटक नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा रिपब्लिकन पार्टीको उम्मेद्वारविरूद्ध चुनावी तयारी गरे हुन्छ।
अमेरिकाको मेरिल्याण्ड राज्यको डेलिगेट डा. ह्यारी भण्डारी जुलाई १९ मा हुने डेमोक्रेटिक प्राइमरी अनअपोज्ड भएका छन्। उनलाई चुनौति दिइरहेकी एनेल म्याक्कोलिमले उम्मेद्वारी फिर्ता लिएपछि डा. भण्डारीका लागि बिना प्राइमरी प्रतिस्पर्धा नोभेम्बर ८ मा हुने जनरल इलेक्सनको बाटो खुलेको हो।
अमेरिकामा केही समयअघि सम्पन्न राष्ट्रिय जनगणनासँगै निर्वाचन क्षेत्रको रिम्यापिरङ गरिएको छ। कतिपय निर्वाचन क्षेत्रका प्रिसिङ्टहरू हेरफेर भएका छन्। डा. ह्यारी भण्डारीको निर्वाचन क्षेत्र मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का पाँच प्रिसिङ्ट डिस्ट्रिक्ट ७ मा परेका छन् भने डिस्ट्रिक्ट ७ का ५ प्रिसिङ्ट उनको क्षेत्रमा आएका छन्।
यो रिम्यापिङसँगै डा. भण्डारीका पुराना रिपब्लिकन प्रतिस्पर्धी जोसेफ बट्लर III को घर डिस्ट्रिक्ट ७ मा पर्दा उनको निर्वाचन क्षेत्र नै परिवर्तन भएको छ। उनको ठाउँमा रिपब्लिकन पार्टीले अर्को प्रभावशाली उम्मेद्वार पार्टीको बाल्टिमोर काउन्टी केन्द्रीय समितिकी अध्यक्ष क्याथिलन स्मेरोलाई मैदानमा उतारेको छ।
डा. भण्डारीलाई प्राइमरीमा राहत मिले पनि जनरल इलेक्सनमा कडा प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। रिपब्लिकन पार्टीले बाल्टिमोर काउन्टी केन्द्रीय समितिकी अध्यक्षलाई उम्मेद्वार बनाएर यस क्षेत्रलाई ठूलो महत्व दिएको सहजै अनुमान गर्न सकिन्छ ।
डेलिगेट डा. भण्डारी दोस्रो कार्यकालका लागि अनअपोज्ड भएको समाचारले अमेरिकाको नेपाली डायस्पोरामा खुशी छाएको छ। पछिल्लो यो स्थितिले डेमोक्रेटिक पार्टीमा डा. भण्डारीले आफ्नो प्रभाव बिस्तार गर्दै लगेर आफूलाई अनअपोज्ड स्थितिमा पुर्याएको देखिन्छ। यसो हुनु भनेको डा. भण्डारीमार्फत् नेपाली समुदायले थप राजनीतिक विश्वास हासिल गर्नु पनि हो।
डा. भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित डेलिगेट भएर मानक उपलव्धी हासिल गर्ने पहिलो र एक मात्र नेपाली अमेरिकी हुन्। यस्तो प्रयास अन्य राज्यमा धेरै नेपालीले गरे पनि उनीहरूले अहिलेसम्म प्राइमरी नै छिचोल्न सकेका छैनन्। केही समयअघि मात्र नेपालीको बाक्लो उपस्थिति रेहोको टेक्सासमा दिनेश शर्माले डिस्ट्रिक्ट ९२ मा गरेको प्रयास पनि सफल भएन जबकि उनको लागि धेरै सम्भावना देखिएको थियो ।