नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ। स्थापनाकालमा डा.केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए।
सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो। मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन्।
‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो।
हुन पनि स्थापना भएको ७३ वर्ष पूरा हुँदा कम्युनिस्ट पार्टीहरू अनेक नाममा दर्ता छन्। कोही सत्तामा घरिघरी पुग्छन् त कोही सानो आकारको पार्टीको रूपमा रहेर अस्तित्व मात्र बचाएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भने १० वैशाख २००६ मा भएको मानिन्छ। तर, स्थापना मितिमा पनि विवाद छ। जे होस्, नेकपा एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेका हुन्।
संस्थापक महासचिव पुष्पलाल बनेका थिए।
डा.केसीको पुस्तकमा उल्लेख भएअनुसार ‘माक्र्सिस्ट स्टडी सेन्टर’मा आबद्ध डा. केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले समावेश नगर्नु मतभेदको कारक रहेको थियो।
त्यसपछिको घटनाक्रम यस्तो छ:
– १७ माघ २०१० मा काठमाडौं र पाटनमा भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी पार्टी महासचिवमा निर्वाचित तर चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाँदा डा. रायमाझीद्वारा पार्टी कब्जा।
– पार्टी कब्जा गरेका केशरजंग र संस्थापक महासचिव पुष्पलाल पक्षबीच दुई लाइन संघर्ष सुरू।
– १५–२५ जेठ २०१४ सम्म काठमाडौंमा दोस्रो महाधिवेशन हुँदा राजनीतिक प्रतिवेदन पुष्पलालको पारित तर नेतृत्वमा केशरजंग स्थापित। पुष्पलालका राजनीतिक कार्यक्रम अस्वीकृत।
– दुई वर्षमा हुने महाधिवेशन ६ वर्षमा हुन थाल्यो।
– १ पुस २०१७ मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको राजा महेन्द्रले अपदस्त गर्दा त्यसबारे पुष्पलाल र केशरजंगबीच भयो मतभेद। केशरजंगले राजाको कदमलाई ‘प्रगतिशील’भन्दा पुष्पलालले ‘सैनिक आतंक’ भनेका थिए।
– भारतको दरभंगमा महेन्द्रको प्रत्यक्ष शासन सुरु भएकै बेला पार्टी विस्थापित बैठक बस्दा संसदीय व्यवस्थाको विरुद्धमा उभिए केशरजंग। ‘दक्षिणपन्थी अवसरवादी’को संज्ञा पुष्पलाल पक्षबाट पाए। संसद् पुनःस्थापनासँगै संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल थिए। मोहनविक्रम सिंह संविधानसभाको निर्वाचको पक्षमा थिए। अन्नतः सिंहरको राजनीतिक प्रस्ताव पारित। केशरजंग र पुष्पलालबीच मतभेद झन चुलियो।
– ४–१९ वैशाख २०१९ मा भएको तेस्रो महाधिवेशन हुँदा ‘अन्तरजोन सामञ्जस्य समिति’का सचिव तुलसीलाल अमात्यद्वारा राजनीतिक प्रतिवेदन पेस र महासचिवमा निर्वाचित। पुष्पलाल, तुलसीलाल र मोहनविक्रमबीच कार्यक्रमभन्दा नारामा विवाद। तुलसीलालले प्रतिवेदनमा ‘कुन बाटो ?’ लेख्दा पुष्पलालले ‘मुलबाटो’ लेखेका थिए। केशरजंग भने कारबाहीमा परिसकेका थिए।
– कारबाहीमा पर्दा पनि २०२४ सालमा केशरजंग पक्षले पनि तेस्रो महाधिवेशन गरे। असन्तुष्ट पुष्पलालले पनि एक वर्षपछि २०२५ सालमा तेस्रो महाधिवेशन गरेर महासचिव बने।
– जेलमा रहेका नेताहरूबाट ‘केन्द्रीय न्युक्लियस’ गठन।
– ३० भदौदेखि ७ असोज २०३१ सम्म मोहनविक्रम पक्षले चौथो महाधिवेशन गरे। ५ वर्षपछि २०३६ मा शम्भुराम श्रेष्ठ र मोहनविक्रम पक्षबीच एकतापछि नेकपा गठन।
– त्यसकै सेरोफेरोमा झापामा पूर्व कोशी प्रान्तीय कमिटीमा आबद्ध रहेकाहरूबाट ‘वर्गशत्रू खत्तम’ कारबाही प्रारम्भ।
– २४ र २५ जेठ २०३२ मा झापा र मोरङका क्रान्तिकारीहरू मिलेर ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन।
– १४ भदौ २०३४ मा कोअर्डिनेसन केन्द्रसँग मुक्तिमोर्चा, २६ भदौ २०३५ मा क्रान्तिकारी कम्युनिस्ट संगठन कमिटी गण्डकी र २७ मंसिर २०३५ मा दाङको सन्देश समूहबीच एकता।
– कोअर्डिनेसन केन्द्र ११ पुस २०३५ पछि नेकपा माले गठन।
– मोहनविक्रम पक्षबाट २०४० सालमा नेकपा (मसाल) गठन। सोही वर्ष निर्मल लामा पक्षबाट नेकपा (चौम) गठन।
– १–१६ मंसिर २०४१ मा मसालको पाँचौं महाधिवेशन सम्पन्न। मोहन वैद्य कारबाहीमा परे। मोहनविक्रम निकट चित्रबहादुर केसीको राजनीतिक प्रतिवेदन पारित। वैद्य समूहबाट नेकपा (मसाल) नै गठन। सेक्टर काण्डपछि पुष्पकमल दाहाल महासचिव।
– ९–१४ भदौ २०४६ सम्म सिरहामा भएको चौंथो नै महाधिवेशनपछि मदन भण्डारी महासचिवमा निवाृचित। संयुक्त जनआन्दोलनका लागि संयुक्त वाममोर्चा गठन।
– नेकपा माले, नेकपा माक्र्सवादी, नेमकिपा, नेकपा (बर्मा) नेकपा (अमात्य) र नेकपा (मानन्धर) पक्ष संयुक्त वाममोर्चामा सहभागी।
– सिंह नेतृत्वको समूहबाट २०४७ सालमा डा. बाबुराम भट्टराई अलग। एकता केन्द्र गठन।
– २२ पुस २०४७ नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता र नेकपा एमाले गठन।
– एमालेमा नेकपा (अमात्य) नेकपा (माओवादी) नेकपा (मसाल) नेकपा (चौम) नेकपा ( मानन्धर) नेकपा (बर्मा) र नेमकिपाका नेताहरू प्रवेश।
– एमाले गठनपछि संसदीय प्रणालीमा प्रवेश। संसदीय प्रणालीप्रति फरक मत राख्ने मोहन वैद्य, प्रचण्ड, बाबुरामलगायत अन्नतः नेकपा माओवादी गठन गर्दै १ फागुन २०५२ देखि जनयुद्धमा सहभागी।
– संसदीय प्रणालीमा रहेको नेकपा एमाले ११ फागुन २०५४ मा महाकाली सन्धीलाई लिएर नेता बामदेव गौतमले फुटाए। २०५६ को आम निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि २०५८ मा एमालेमा फर्किए।
– ४ असार २०६९ तत्कालीन एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष मोहन वैद्य पक्ष अलग।
– ७ मंसिर २०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एमाले फुट्यो। संघीयता, पहिचान र धर्मनिरपेक्षताको विरुद्धमा पार्टी उभिएको भन्दै राई नेतृत्वमा एउटा पक्ष अलग भएको हो।
– ९ असोज २०७२ मा एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष डा. बाबुराम भट्टराई अलग।
र,
– २ भदौ २०७८ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट एमाले विभाजन।