नेपाली मूलका एक मात्र अमेरिकी राज्य विद्यायक डा. ह्यारी भण्डारीको साताव्यापि नेपाल भ्रमण सकिएलगतै पाँच सदस्यीय अमेरिकी संसदीय टोलीले नेपाल भ्रमण गर्न लागेको समाचार बाहिरिएको छ।
डेमोक्रेटिक पार्टीकी प्रभावशाली सिनेटर क्रष्टन गिलव्राण्डको नेतृत्वमा रहेको संसदीय टोलीमा डेमोक्रेटिक पार्टीका तीन सिनेटर कोरी बुकर, मार्क केली, उड मार्की र कंग्रेसम्यान मोन्ड्री जोन्स रहेका छन्।
नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७५औं वर्षमा प्रवेश गरेको अवसरमा हुन लागेको भनिएको यो भ्रमण महत्व, प्रभाव र संख्याका आधारमा निक्कै ठूलो भ्रमण हो। अमेरिकी राजनीतिक भाषामा बाइपार्टीसन (डेमोक्रेटिक र रिपब्लिकन दुबै दलको सहभागिता) नभए पनि यो एक विशेष र उच्चस्तरीय भ्रमण हो।
संसदीय टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई समेत भेट्ने कार्यक्रम रहेको छ।
एमसीसी पारित भएपछि अमेरिकाले नेपाललाई ठूलो महत्व र इज्जत दिइरहेको छ। यसबीचमा अमेरिकाले नेपाललाई दिने अनुदानमा मात्र वृद्धि गरेको छैन, एकपछि अर्को गरेर अमेरिकी अधिकारीहरू पनि नेपाल गैरहेका छन्।
नेपाली मूलका एक मात्र डेलिगेट डा. ह्यारी भण्डारी काठमाडौंमै रहेको बेला दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिंग काठमाडौं पुगेकी छिन्।
उनी काठमाडौैंमै रहेको बेला पाँचसदस्यीय संसदीय टोली नेपाल पुग्दैछ।
केही समयपछि नै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको नेपाल भ्रमण हुने बताइएको छ।
डेलिगेट डा. ह्यारी भण्डारीले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउबासँग भेटवार्ता गरेका थिए। अमेरिका फर्कनुअघि अमेरिकी राजदूतसँग उनको भेटघाट र कुराकानी भएको थियो।