सल्यानमा पाँच दलीय गठबन्धन भत्किएको छ।
केन्द्रबाट पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएपनि सल्यानमा भने १० वटै पालिकामा एक्ला एक्लै चुनाव लड्ने गठबन्धन दलले निर्णय गरेका छन्।
आइतबार बसेको जिल्ला स्तरीय गठबन्धन दलको बैठकले चुनावमा मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धामा जाने निर्णय गरेको छ।
सल्यान कांग्रेस जिल्ला सभापति केशबहादुर विष्टले माओवादी केन्द्रले नमानेका कारण एक्ला एक्लै चुनाव लड्ने निर्णय भएको बताए।
बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, 'माओवादीका साथीहरुले गठबन्धन गर्ने कुरा मान्नुभएन। उहाँहरुले पहिले नै उम्मेदवार घोषणा गरिसकेका छौँ भन्नुभयो र सहमति नभएपछि मैत्रीपूर्ण रुपमा, गठबन्धन दलबीच आरोप प्रतिआरोप नगरेर चुनाव लड्ने निर्णय भयो।'
गठबन्धन बैठकमा कांग्रेस जिल्ला सभापति विष्ट, उपसभापति सन्तोष केसी, सचिव एकराज बुढाथोकी, माओवादी केन्द्रबाट सल्यान जिल्ला ईन्चार्ज उमकान्त शर्मा, जिल्ला संयोजक कृति बहादुर पुनको सहभागिता रहेको थियो।
यस्तै, एकीकृत समाजवादीका जिल्ला सह ईन्चार्ज लोकबहादुर डाँगी र जिल्ला अध्यक्ष हरिहर केसीको सहाभागिता रहेको थियो।