विप्लवको नामबाट निर्वाचन धकेल्ने चेष्टा गर्दै सत्ता गठबन्धन 

नेकपा एमालेसँग डराएर विप्लवको नामबाट निर्वाचन धकेल्ने चेष्टा सत्ता गठबन्धन गर्न थालेको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले आरोप लगाएका छन्।

नेकपा एमालेले मेचीनगर ६ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले  निर्वाचनको समय गरिएको गठबन्धन उनीहरुको रहर नभएर बाध्यता भएको बताए। 

खुसी नेपाली सुखी नेपालीको अभियानमा लागेको एमालेको कामप्रति सबै खुसी भएको देखेर सत्ता गठबन्धनमा डर भएको उनको आरोप छ।

नेकपा एमालेको यसपटक स्थानीयदेखि केन्द्रसम्म सबैतिर जित निश्चित रहेको प्रदेश सांसदद्वय गोपालचन्द्र बुढाथोकीले बताए।  

जनताको हितमा काम गर्ने पाटी नेकपा एमाले रहेको भन्दै बुढाथोकीले अधूरा काम एमालेले पूरा गर्ने जिम्मेवारी आएको बताए।

कार्यक्रममा नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको घोषणा गरेको छ।

एमालेको तर्फबाट मेचीनगर ६ को वडाअध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन्। 

त्यस्तै महिलातर्फ खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्वसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगर कमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर ६ का वडा कमिटि अध्यक्ष प्रितम काफ्लेले बताए।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मिना पोख्रेल (उप्रेती)को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सदस्यहरुलगायतको उपस्थिति रहेको थियो। 

 

प्रकाशित मिति: : 2022-04-16 19:31:00

प्रतिकृया दिनुहोस्