मलाई बच्चैदेखि सिनेमा हेर्न मन लाग्थ्यो, त्यो इच्छा आजसम्म पनि कायम छ। कुनै समय कलाकार बन्ने लङ्गड साेख पनि पलायो, जसमा विविध कारणले निरन्तरता दिन सकिएन। सिनेमा हेर्दा यो कसको कथा होला भनेर धेरै समय सोच्थेँ। तर, अच्चम आज आफ्नै कथामा सिनेमा बन्ने क्रममा छ।
मेरो आफ्नै कथा र आफैले लेखेको तथा हाल निर्माण भइरहेको सिनेमा ‘भाग्य’को अन्तिम चरणको सुटिङ्ग समाप्त भएपछि प्रदर्शन हुने छ। र, मेरो लेखाइको हैसियतको पनि परीक्षा हुने नै छ।
यो कुरा पचाउन नसक्ने केही बुद्धिजीवीहरुले ‘तँ जस्तो सामान्य मान्छेको के नै कथा हुन्छ र ? के नै सिनेमा बन्छ ?’ भनेर आलोचना गरिरहेका छन्। त्यस्ता मान्छेहरुलाई त्यो सिनेमा नहेरेर सहयोग गर्न म अहिले नै अनुरोध गर्दछु। यो सिनेमा मेरो कुनै ‘बायोपिक’ होइन र त्यो हैसियत मेरो छँदा पनि छैन।
आजभन्दा करिब दुई वर्ष पहिले म किन अमेरिका आउनु पर्याे र मैले यहाँ आएर के पाएँ वा गुमाएँ भन्ने विषयमा एउटा कथा लेखेको थिएँ। लेख्दा लेख्दै कथा निकै लामो भएको कारण केही मित्रहरुको सल्लाहमा यसलाई उपन्यासको रुप दिने योजना थियो। यसैबीच अमेरिकाको विकिन्संस राज्यमा बसोबास गर्ने किशोर बस्याल र सन्ध्या बस्यालसँग मेरो सम्पर्क भयो। कला र साहित्यलाई सम्मान गर्ने बस्याल दम्पतीलाई मेरो यो कथा राम्रो लागेको कारण यसलाई सिनेमा बनाउने सल्लाह भयो र यसको पटकथा र संवाद पनि मैले नै लेख्ने निर्णय भयो।
म कथा, पटकथा र संवाद (स्क्रिप्ट) लेखनलाई द्रुत गतिमा अघि बढाउदै थिएँ अकस्मात बुवाको निधन भयो। बुवाको निधन भएको कारण मैले लेख्न नै सकिनँ। सामान्य बोलचालको भाषामा लेख्ने भने पनि यो सोच्ने काम हो। लेख्न त चारखाल अड्डाको लेखनदासले पनि लेख्छ तर सोच्ने काम लेखक को हो। बोलीचालीमा स्थान (लोकेसन) राम्रो भयो भने फोटोग्राफी राम्रो भन्ने चलन छ। स्विजरल्याण्डमा र काठमाडौँको पोडे टोलमा एउटै सिनेमोटोग्रफ़रले खिचेको दृश्य हेर्दा के दुवै स्थानको दृश्य एउटै जस्तो देखिएला ? तर यसको मतलब सिनेमाको दृश्यमा सिनेमोटोग्राफरको कुनै योगदान नै नहुने भन्ने अर्थ नलागोस्।
बुवाको निधनको कारण स्क्रिप्ट तयार गर्न ढिलाइ भएपनि अन्तत: सिनेमाको शुटिङ्ग हुने तय भयो। सिनेमाको निर्देशन न्युयोर्क फिल्म एकेडेमीबाट प्रशिक्षित अर्चना प्रधान र विश्वास केसीले संयुक्त रूपमा गर्ने भए। प्रधान र केसीसँग बसेर आफ्नो कथाको मर्म बुझाएपछि अमेरिकाको लस एञ्जलसबाट शुटिङ्ग सुरु भयो र त्यहाँको शुटिङ्ग समाप्त गरेर नेपाल गएको शुटिङ्ग युनिटले नेपालमा गर्नु पर्ने शुटिङ्ग पनि समाप्त गरेको छ। अब अन्तिम चरणको शुटिङ्ग अमेरिकाकै न्युयोर्क र बोस्टनमा गरेपछि सम्पूर्ण शुटिङ्ग समाप्त हुने छ। त्यसपछि बाँकी रहेका प्राविधिक कामहरु सकिए भएपछि सम्भवत आउने असार महिनामा सिनेमा रिलिज गर्ने योजना छ।
सिनेमाको कथा मेरो आफ्नै र वास्तविक कथामा लेखिएको कारणले मलाई नजिकबाट चिन्ने र मसँग सम्बन्ध भएकाहरुले यो सिनेमामा आफूलाई पनि पाउने छन्। मेरो विचारमा यो पनि एउटा रोचक घटना नै हुने छ। साथै जसलाई यो प्रकरण सफल हुनेमा विश्वास छैन, त्यस्ता मान्छेहरुले यो सिनेमा नहेर्नुहोला, मलाई त्यस्ता ‘टट्टु’ दर्शकहरुको जरुरत छैन। यदी मेरो सिर्जनमा गुदी नै छैन भने मलाई माया गर्नेहरुले हेरेर मात्र सिनेमा सफल हुने होइन र यदी गुदी छ भने त्यो मान्छे नाकले टेकेर पनि हेर्न आउने छ।
म कुनै महान मान्छे भएको कारणले मेरो कथामा सिनेमा बनेको हो भन्ने भ्रम मलाई छैन, र त्यो वास्तविकता पनि होइन। यो फगत एउटा पात्रको कथा हो र संयोगले त्यो पात्रमा नै हुन् पाएको छु। जब आफ्नै कथामा सिनेमा बन्ने क्रममा छ र छिटै नै सिनेमा बन्छ पनि त्यसको प्रमुख पात्र म नै हो भनेर पूर्व जानकारी पाउँदा मनमा कता–कता खुसी लागेको कुरालाई नकार्न सकिन्न।