चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १३’ मा देखिएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।
भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षको उमेरमा हृदयघातको कारण उनको शुक्रबार राति निधन भएको हो।
स्वास्थ्य असहज भएपछि उनका पति, अभिनेता पराग त्यागीले शेफालीलाई अस्पताल पुर्याए तर अस्पतालमा उनलाई मृत घोषित गरियो।
उनको शवलाई पोस्टमार्टमको लागि राति १२ः३० बजेतिर कूपर अस्पताल लगिएको थियो। यसैबीच, मुम्बई प्रहरी राति अबेर अनुसन्धानको लागि शेफालीको अंधेरीस्थित घरमा पुगेको थियो।
अभिनेत्री अन्तिम पटक सन् २०२४ को टिभी कार्यक्रम ’शैतानी रश्मे’ मा पर्दामा देखिएकी थिइन् ।
सन् २००२ मा रिलिज भएको गीत ‘काँटा लगा’ म्युजिक भिडियोबाट उनी प्रसिद्धीको शिखरमा पुगिन्। त्यसपछि उनी सलमान खानको फिल्म ‘मुझसे शादी करोगी’मा देखा परिन् र सन् २०१९ को वेब सिरिज ‘बेबी कम ना’मा अभिनय गरिन्।
उनले ‘बुगी वूगी’ र ‘नच बलिए’जस्ता लोकप्रिय डान्स रियालिटी शोहरूमा पनि भाग लिइन्।
शेफालीले दुई विवाह गरेकी थिइन्। उनको पहिलो विवाह सन् २००४ मा मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग भएको थियो, तर सन् २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भयो।
त्यसपछि शेफालीले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन्।