केपी ओलीको अभिव्यक्तिले सिंगो जनजाति समुदायको अपमान भएको छ : महासंघ

नेपाल आदिवासी जनजाति महासंघले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहिद लखन थापाकाे विषयमा दिएकाे अभिव्यक्तिप्रति आपत्ति जनाएकाे छ।

आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद बागलुङले आइतबार विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीकाे अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।

‘सरकारले लखन थापामगरलाई प्रथम सहिद घोषणा नगर्नका लागि अनेक प्रपञ्चहरु गरे पनि तथ्य र प्रमाणहरुले लखन थापा नै प्रथम सहिद भएको पुष्टि भएपछि बाध्य भएर घोषणा गरेको हो। यही तथ्य जगजाहेर हुँदाहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत चैत १८ गते एक कार्यक्रममा लखन थापामगर नेपालको प्रथम सहिद होइनन् भनेर दिएको अभिव्यक्तिप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ’, विज्ञप्तिमा भनिएकाे छ।

तथ्य प्रमाणको आधारमा सरकारले घोषणा गरेको प्रथम सहिदको विषयलाई निहित राजनीतिक स्वार्थका लागि तथ्यहीन र भामक प्रचार गर्ने उद्देश्यले गरिमामय पदमा बसेका पूर्वप्रधानमन्त्री भैसकेको व्यक्तिले दिएको अभिव्यक्तिले सिंगो आदिवासी जनजाति समुदायको अपमान भएको महासंघले जनाएकाे छ।

ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धीहरु गणतन्त्र, संघियता, समावेशीता, धर्मनिरपेक्षतालगायतका मुद्दाहरूमा समेत उनले विगतदेखि नै निरन्तर प्रहारको श्रृङ्खलाको रुपमा अहिलेको यो अभिव्यक्ति आएको जनाइएकाे छ।

‘आफू सत्तामा हुँदा सांस्कृतिक बिदा कटौती, आदिवासी जनजाति उत्थान प्रतिष्ठानको बजेट कटौती, लोकसेवा आयोगमा विद्यमान समावेशी सम्बन्धी कानुनको प्रतिकूल र हुनेगरी गरिएको विज्ञापनलगायतले उहाँको पश्चगामी सोचलाई उजागर गरेको छ’, विज्ञप्तिमा भनिएकाे छ,  ‘त्यसकारण उनको यो अभिव्यक्ति तुरुन्त फिर्ता लिई यस खालको गतिविधि र अभिव्यक्ति नगर्न नगराउन सम्बन्धित सबैमा सचेत गराउँछौँ।’ 

आदिवासी जनजाति समुदायमाथि यसरी भैरहेको नितरन्तरको आक्रमण नरोकिए यसको परिणाम गम्भीर हुने चेतावनी दिएकाे छ।

प्रकाशित मिति: : 2022-04-10 14:09:00

प्रतिकृया दिनुहोस्