सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

Annapurna post
Annapurna post

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा हजारौँको सहभागिता जुटेको छ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो। 

बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। 

पहिलो दिन आज रथ असन पुर्याइएको छ। रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भीड लागेको छ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्र बहालमा ल्याएर अन्त्य गरिन्छ। रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ।

अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले राससलाई जानकारी दिए।   

राष्ट्रपतिले दर्शन गर्ने

असनमा आज राति १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ। 

सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।    

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। 

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ। तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ।

लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ। राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा हुन्छ।

प्रकाशित मिति: : 2022-04-09 21:31:00

प्रतिकृया दिनुहोस्