अमेरिकाको सर्वोच्च अदालतमा २३३ वर्षपछि एक अश्वेत महिला न्यायाधीश

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाको सर्वोच्च अदालतमा २३३ वर्षपछि एक अश्वेत महिला न्यायाधीश पाएको छ। राष्ट्रपति जो बाइडनले मनोनयन गरेकी केताञ्जी ब्राउन ज्याक्सन सिनेटमा लगाइएका दुई बडेमाका जीओपी तगाराहरू छिचोल्दै बिहीबार त्यो ऐेतहासिक मुकाममा पुगेकी हुन्। 

उनले विहीबार सिनेटको फ्लोरमा ५३-४७ को बहुमत पाउनुअघि न्यायिक समितिमा ११-११ को टाइब्रेकर अवस्था छिचोल्नु परेको थियो। सिनेटमा ५०-५० को स्थिति रहे पनि उपराष्ट्रपतिका कारण मेजोरिटी लिडर भएका डेमोक्रेट सिनेटर चक सुमरले उनको पक्षमा ट्राइ ब्रेकर गरेपछि मुस्किलले उनी सिनेट फ्लोरमा उक्लिइन्। तीन रिपब्लिकन सिनेटरले पार्टीलाइन विपरित उनलाई मत दिएपछि उनको पक्षमा सिनेटको बहुमत जुट्यो। के हुन्छ के हुन्छ ? को संगीन अवस्थामा ट्राइ ब्रेकर गर्नुपर्ने पनि हुन् सक्छ भनेर सिनेटको अध्यक्षता गर्न पुगेकी उपराष्ट्रपति कमला ह्रयारिसले त्यो अवस्थाको सामना गर्नु परेन। पहिलो अश्वेत अमेरिकी उपराष्ट्रपति कमलालाई सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश केताञ्जीको नाम घोषणा गर्ने संजोग जुर्यो।

यो ऐतिहासिक घोषणाको क्षणमा प्रस्तावित न्यायाधीश केताञ्जी भने राष्ट्रपति भवन ह्वाइट हाउसको रूजबेल्ट कक्षमा राष्ट्रपति जो बाइडेनसँगै सिनेटमा भैरहेको मतदानको प्रत्यक्ष प्रसारण हेरिरहेकी थिइन्। जब उनको नाम उच्चारण भयो, उनी गालाभरी आँसुको धारा बगाएर राष्ट्रपति जो बाइडेनका हात समातेर खुशी साटिरहेको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूको काँचको पर्दामा देखिएको थियो।

अमेरिकामा समानता छ, सबैले उस्तै मौका पाउँछन् भनेर बनाइएको भाष्यको पनि आज एक किसिमको पर्दाफास भएको छ। किशोर प्रजातन्त्र भएको नेपालमा असमानता भएको भनेर समानताको घामबाट टाढा पारिएका नेपालीहरू अत्तालिएका देखिन्छन्, आजको परिणामले धैर्यता कति महत्वपूर्ण हुनेरहेछ भन्ने शिक्षा दिन सक्छ।


केताञ्जीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा उद्घोष भएसँगै अमेरिकामा एकथरि इतिहास निर्माण भएको भनेर खुशीयाली मनाइरहेका छन् भने अर्काथरि आफूले त्यो इतिहास बन्न रोक्न नसकेकोमा पश्चाताप गरिरहेका छन्। सिनेटको मतदानपछि रिपब्लिकन बेञ्चमा एकजना सिनेटर मिट राम्नी मात्र ताली बजाइरहेका थिए भने बाँकि सबै सिनेटर रिसले चुर हुदै बाहिरिएका दृश्यहरू टिठलाग्दा थिए। उता, डेमोक्रेट सिनेटरहरू भने सम्भवत: जीवनमै यति लामो ताली बजाइरहेका थिए। उपराष्ट्रपति कमला ह्यारिस पनि यो ऐतिहासिक उपलव्धीको खुशीलाई छताछुल्ल पारिरहेकी थिइन्। 

अमेरिकाले २३३ वर्षपछि एक अश्वेत महिला सर्वोच्च अदालतको न्यायाधीश पायो, प्रधानन्यायाधीश हुने कुरा त धेरै टाढाको भयो। समग्रतामै कुरा गर्ने हो भने सर्वाोच्च अदालतको न्यायाधीश हुने ज्याक्सन तेस्रो अश्वेत अनुहार हुन्। उनी अगाडि दुईजना अश्वेत पुरूष थुर्गड मार्शल र क्लेरेन्स थोमस मात्र सर्वोच्च अदालतको न्यायाधीश भएको इतिहास छ। थोमस अहिले पनि सर्वोच्च अदालतमै न्यायाधीश छन्। 

आजको ऐतिहासिक घटना, अमेरिकामा समानता छ, सबैले उस्तै मौका पाउँछन् भनेर बनाइएको भाष्यको पर्दाफास पनि थियो। किशोर प्रजातन्त्र भएको नेपालमा असमानता भएको भनेर समानताको घामबाट टाढा पारिएका सिमान्तकृत नेपालीहरू अत्तालिएका देखिन्छन्, अमेरिकाले आज बनाएको समाचारले त्यस्तो निराशा र हतासालाई रोक्न प्रेरणा प्रदान गर्छ। समग्रमा आज २३३ वर्षपछि केताञ्जी ज्याक्सनले अश्वेत अमेरिकी महिलाको पक्षमा बनाएको इतिहासले धैर्यता कति महत्वपूर्ण हुनेरहेछ भन्ने शिक्षा दिन सक्छ।

अमेरिकाको आजको परिघटनाले समानता रातारात नपाइने रहेछ, त्यसका लागि एक दुई वर्ष या दशक हैन, शताव्दी पनि लाग्न सक्ने रहेछ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ। अमरिकी समानताको जति नै कुरा गरे पनि यस देशको सर्वाोच्च अदालतलाई एक महिला अश्वेत न्यायाशीश पाउँन २३३ वर्ष लाग्यो।  

प्रकाशित मिति: : 2022-04-08 04:24:00

प्रतिकृया दिनुहोस्