गायिका दीपा भन्छिन् : गीत–संगीतकाे व्यस्तताले प्रेममा ध्यान दिन पाइनँ

Breaknlinks
Breaknlinks

नेपाली गीत संगीत क्षेत्रमा एक उदयमान नाम हो, दीपा सुहाङ। रेडियोमा गीत सुनेर गायिका बन्ने सपना बुनेकी सुहाङ अहिले गीत संगीत क्षेत्रमा चम्किरहेकी छिन्। ‘आगो पिएर बाच्ने’, ‘राइनी केटी’, ‘योवनको बाढी थिबोङ थाक्बुङ’लगायत चर्चित गीतहरुसँगै करिब १ सय बढी गीतमा उनले आवाज दिएकी छिन्। उनै गायिका दीपा सुहाङसँग बिएल नेपाली सेवाकाे लागि रविन पुन मगर (आइडु)ले गरेकाे कुराकानी प्रस्तुत छ :-


केही दिनअघि मात्रै सार्वजनिक भएकाे तपाईंकाे नयाँ गीत ‘जादु छ ’बारे दर्शकले कस्ताे प्रतिक्रिया दिनुभएकाे छ ? 

गीत सुन्नु भएकाहरूले राम्रै प्रतिक्रिया दिनुभएकाे छ। यसमा युगल जाेडीकाे रूपमा डम्बर नेपाली दाइले साथ दिनुभएकाे छ। 

अहिलेसम्म कति वटा गीत गाउनुभयो नि ?

संख्यात्मक रूपमा त मैले ९० भन्दा बढी गीत गाएकाे जस्ताे लाग्छ। तर, ठ्याक्कै यत्ति भन्ने चाहिँ थाहा भएन गन्तिनै गरेकाे छैन।

तपाईंलाई चिनाएकाे गीत कुन हाे ?

आदरणीय नारायण रायमाझी दाइको ‘आगो पिएर’ बोलको फिमेल भर्सनले मलाई धेरै चिनायाे कि जस्ताे लाग्छ। त्यो गीत धेरै दर्शक/श्रोताले मन  पराउनुभयाे। धेरैले राम्रो छ, भनेर तारिफ गर्नुहुन्छ। आफ्नै पूर्वेली लाेकगीतहरू गाउँदै आएको बेलामा त्यो गीतले देश विदेशमा बस्ने धेरै नेपालीसामु चिनायाे।

तपाईंको बाल्यकाल कस्तो रह्यो ?

बाल्यकाल त गाउँमै बितेको हो। खेती किसानी गरिन्थ्यो, रेडियोमा धेरै गीत सुन्थेँ।

गाउँमा हुँर्किदै बढ्दै गर्दा गीत संगीतमा लाग्ने सपना कसरी बुन्न पुग्नुभयाे ?

गाउँमा बस्दा रेडियो धेरै सुन्ने गर्थेँ। कलाकारहरूकाे अन्तर्वार्ता सुन्थेँ। आफूलाई पनि त्यस्तै कलाकार कहिले बन्छु हाेला जस्तो लाग्थ्यो। अनि गीतहरु गुनगुनाउथेँ।

तपाईंको परिवारबाट कोही गीत संगीतमा लाग्नुभएकाे छ ?

नाई–नाई, यो क्षेत्रमा कोही हुनुहुन्न। तर,  म सानो हुँदा बुबाले लिम्बुको मुन्धुमहरु एकदमै धेरै गाउनुहुन्थ्यो।

त्यसाे भए बाबाको गीत सुनेरै गायिका बन्ने सपना बुन्नु भएकाे हाे ?

होइन नि, त्यतिबेला त म बच्चै थिएँ। बाबाले गीत गाउँदा पनि किन गाउनुभएकाे होला जस्तो लाग्थ्यो। उल्टै नरमाइलो पो लाग्थ्यो। तर, अहिले बुझ्दा त बाबाले गीत गाउँदा ती कुराहरू पक्ष्याएको भए अहिले धेरै सपोर्ट हुने रहेछ। पछुतो लाग्छ।

कस्ता खालका गीतहरु तपाईंको रोजाइमा पर्छन् ?

त्यस्ताे यही भन्ने त छैन। प्राय: सबै गीतहरु गाउने गर्छु। मैले लोकगीतहरु पनि गाएँ, आधुनिक गीतहरु पनि गाएँ। प्राय: अहिलेसम्म मेरो लोकगीतहरु नै बढी रेकर्ड भएका छन। सबैखाले गीत गाउने प्रयास गर्दैछु।

कहिलै धान नाच नाच्नु भएको छ ?

सानाेमा नाचिन्थ्याे। आफ्नाे संस्कृति हाे, माया लाग्छ।

तपाईंका गीतहरुमा आफै अभिनय पनि गर्नुभएको छ, के मोडलिङमा पनि रूचि छ ?

कोसिस मात्रै गरेको हुँ। आफ्नै गीतमा सिक्दै जाऊ भन्ने लागेर।

माेडलिङ पनि राम्रै गर्नुहुन्छ, रूपमा पनि राम्री हुनुहुन्छ, फिल्मबाट अफर आयाे भने के गर्नुहुन्छ ?

त्यतातिर सोच्नु पर्ला। अहिले सिक्दै छु। आफ्नो लाइन गीत संगीतमा बढी ढल्किएको छ। फिल्ममा अफर आयो भने त सोच्नुपर्छ। अहिले त्यस्तो केही सोचेको छैन। अहिले म्युजिकलाई नै समय दिनुछ, सिक्नु धेरै छ। मिहेनत गर्दैछु।

स्वर र रुप दुबैको धनी हुनुहुन्छ प्रेम प्रस्ताव कति आउछन् ?

धन्यवाद, आइरहेको हुन्छ। तर, म म्युजिकमै बढी समय दिनुपर्ने हुनाले त्यतातिर त्यति ध्यान पुर्‍याएकाे छैन। ती कुराहरूलाई मैले नर्मल रूपमा लिन्छु।

बिहे गर्ने बेला हुन लाग्यो, जीवन–साथी कस्तो होस् भन्ने चाहना छ ?

म्युजिक क्षेत्रलाई मन पराउने, आफूलाई बुझ्ने, सपोर्ट गर्ने खालको।

कुनै नयाँ प्रोजेक्टमा काम गर्दे हुनुहुन्छ ?

गीतहरू त आइरहेका छन्। मेरो आफ्नै युट्युब च्यानल ‘दीपा सुहाङ’ च्यानलमा नि आएकै छन्।

महिनामा कति गीतहरु रेकर्डिङ गर्नुहुन्छ ?

त्यस्तो यत्ति भन्ने त छैन। तर, कहिलेकाहीँ १०/१५ वटा पनि गरिन्छ।

प्रकाशित मिति: : 2022-04-07 14:35:00

प्रतिकृया दिनुहोस्