जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठाको एक पसल र एक होटेल जलेर नष्ट भएको छ।
नाम्खा गाउँपालिकाको वडा नम्बर ४ का छिरिङ पाल्जोर तामाङको पसलसहित होटेल रहेको एक तलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
२०७८ चैत १८ गते दिउँसो काठको टहराको दुई कोठा जलेर नष्ट हुँदा एक करोड २५ लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जनाएको छ।
विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए।
पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य बस्तुलगायत सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए।