पेट्राेलियम पदार्थकाे मूल्य भारतमा भन्दा नेपालमा सस्ताे भएपछि सीमा क्षेत्रका नेपाली पम्पहरूमा तेल भर्न आउने भारतीयहरु बढेका छन्।
पछिल्लो १० दिनमा भारतमा नवौंपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि भएसँगै त्यहाँ भन्दा नेपाली बजारमा पेट्राेलियम पदार्थकाे मूल्य सस्ताे हुन पुगेकाे हाे।
बुधबारबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा भारु बढेको छ। भारतले आफ्नो ऊर्जा आवश्यकताको झण्डै ८५ प्रतिशत (पेट्रोलियम) आयात गर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा मूल्यमा थोरै उतारचढाव हुँदा यहाँ पनि असर पर्छ।
योभन्दा पाँच दिनअघि भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ११२.२१ भारु थियो। त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ९७.८१ भारु पुगेको थियो। हाल भारतमा डिजेलको मूल्य प्रतिलिटर भारु १०० नाघेको छ भने पेट्रोल लिटरको भारु ११५ नाघेको छ।
त्यस्तै नेपाल आयल निगमले पछिल्लो पटक चैत २ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५/५ भारुले मूल्यवृद्धि गरेको थियो। यो वृद्धिअनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टितेलको १३८ रुपैयाँमा कारोबार भइरहेको छ।
पेट्राेलियम पदार्थकाे मूल्य भारतमा भन्दा नेपालमा सस्ताे पर्न थालेपछि भारतीय उपभाेक्ता नेपालमा आउन थालेका हुन्। यसरी नेपालले भारतबाट किनेर ल्याएको तेलको केही हिस्सा सीमावर्ती क्षेत्रबाट विभिन्न तरिकाले पुनः भारततिर जानुको मुख्य कारण भारतमा भन्दा नेपालमा मूल्य सस्तो पर्नु हो।
अहिलेको दर अनुसार नेपाल-भारत सीमा क्षेत्रमा (नेपालतर्फ) पेट्रोलको मूल्य प्रतिलिटर १५३.५० रुपैयाँ र डिजेलको प्रतिलिटर १३६.५० रुपैयाँ छ। भने भारततर्फ पेट्रोलको दाम १११ भारु (१७७.६ रुपैयाँबराबर) र डिजेल ९७ भारु (१५५.२० रुपैयाँ बराबर) रहेको छ।